यति एयर दुर्घटनाः तीन जनाकाे शव आफन्तले बुझे, सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

यति एयर दुर्घटनाः तीन जनाकाे शव आफन्तले बुझे, सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये तीन वटा शव आफन्तको जिम्मा लगाइएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि आवश्यक प्रक्रिया पूरा गरेर तीनवटा शव आफन्तको जिम्मा लगाइएको कास्की जिल्लाका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए। प्रहरी प्रमुख केसीका अनुसार विदेशी यात्रु, चालक दलका सदस्य र पहिचान नभएका ४५ देखि ४९ वटा शव आज काठमाडौं पठाउने तयारी भइरहेको छ।

शवलाई काठमाडौं पठाउन आवश्यक सबै तयारी पुरा भएको र अस्पतालले हस्तान्तरण गर्ने वित्तिकै काठमाडौं पठाउने उनले जानकारी दिए। शव लिनका लागि नेपाली सेनाको हेलिकोप्टर सोमबारनै पोखरा गएको थियो। ‘सकेसम्म १०÷११ बजेभित्रै शव काठमाडौं पठाउने हाम्रो तयारी छ। अस्पतालले कति चाडो गर्छ त्यतिनै छिटो शव पठाउँछौ’, उनले भने। प्रहरी प्रमुख केसीका अनुसार पहिचान भएका पोखरा आसपासका शव भने अस्पतालबाटै प्रक्रिया पुर्‍याएर आफन्तलाई जिम्मा लगाइने भएको छ।

यसैबीच, दुर्घटनामा परेकामध्ये दुई जनाको अवस्था भने अझै अज्ञात छ। उनीहरुको खोजी तथा उद्धार कार्य बिहानै बाट सुरू गरिएको केसीले जानकारी दिए। आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए। जसमध्ये हालसम्म ७० व्यक्तिको शव भेटिएको छ। काठमाडौंबाट पोखराको लागि आइतबार बिहान १०ः३२ बजे उडेको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान पोखरा टावरसँग १०ः५० बजेबाट सम्पर्क टुटेको थियो। अवतरण हुनु केही समय अगाडि मात्र जहाज दुर्घटनामा परेको थियो।

Logo