रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताएका छन् । उनले नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको प्रशंसा गरे ।
सैनिक जङ्गी अड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठक, २०७९ को शुभारम्भका अवसरमा शुभकामना व्यक्त गर्दै रक्षामन्त्री उप्रेतीले सेनाले कोभिड–१९ महामारीलगायत विभिन्न विपद्को दौरान अग्रपङ्क्तिमा खटिइ व्यक्तिगत जोखिमको प्रवाह नगरी निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
रक्षामन्त्री उप्रेतीले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे । निर्दिष्ट संवैधानिक दायित्व सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सेनालाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने उनले उल्लेख गरे ।
त्यसका लागि नेपाली सेनाको दीर्घकालीन सोच–२०८७, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजनालगायत अन्य मार्गनिर्देशक दस्तावेज बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता थियो । उनले सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न करिडोरको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने समेत बताए ।
कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताए । उनले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कूटनैतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना तयारी अवस्थामा रहन आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरू सञ्चालन भईरहेको उल्लेख गरे ।





























प्रतिक्रिया