सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेसँगै नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा छलाङ आएको छ । आइतबार अर्थ मन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।
यससँगै आइतबार नेप्से परिसूचक ५३ दशमलव शून्य ३ प्रतिशतले बढेर १ हजमर ९१९ दशमलव ३७ विन्दुमा बन्द भएको हो । आइतबार कारोबार भएका २१७ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे सेयरमूल्य घटेको छ ।
आइतबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार रकमको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस्तो छ अर्थ मन्त्रालयको स्पष्टीकरण
“आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिममै कानुनी व्यवस्था कायम रहेको छ”, मन्त्रालयको सूचना भनिएको छ, “त्यस्तो कारोबारबाट भएका लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा साँढे सात प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”
पुँजीबजारका लगानीकर्ताले विरोध जनाउन थालेपछि यसअघि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नभएको भन्दै सूचना जारी गरेको थियो । एक वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आम्दानीमा पाँच प्रतिशत र एक वर्षभन्दा बढी समय स्वामित्वमा रहेको धितोपत्रको कारोबारबाट हुने आयमा साढे सात प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।
आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ ।































प्रतिक्रिया