बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

केन्द्रबिन्दु
0
Shares

नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् ।

यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो। राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गर्नेछ भने अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ।

प्राइभेट इन्फास्ट्रक्चर डेभलपमेन्ट ग्रुप (पीआईडीजी) कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नेपाल (सन) को संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो । उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्दछ ।

नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २,७०० मेगावाट रहेको छ । जसमा ९६ प्रतिशत जलविद्युत हो । देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ । यसले ग्रीन हाउस ग्यास उत्सर्जन घटाउँदै दिगो विकास लक्ष्य जलवायु कार्यलाई पनि समर्थन गर्ने बताइएकाे छ।

समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले ब्रुअरीको उर्जा आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउन एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसारतर्फको प्रयास भएको बताए ।

त्यसैगरी, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताए । त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरूमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिँदै राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार उर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका अरु कम्पनीहरूमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताए । यस्ता अभ्यासहरू जारी राख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैँ अग्रसर रहने उनले प्रतिबद्धता जनाए ।

Logo