काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले बेहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ ।
यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जोडिएको छ । विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
स्मृति सभालाई सम्बोधन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्ने बताएकी छिन् । उनले महानगरपालिकालाई विपत् उत्थानशील सहर बनाउन विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवं पुनर्लाभका लागि वडा विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन् ।
उनले भनिन्, ‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ । नागरिकको आँगनको सरकारले यो काम गर्छन् । संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ । यसकोणबाट सबै तहका सरकारको समान भूमिका छ ।’ महानगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवं पुनर्लाभका लागि वडा विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ । स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ ।’
विपत्मा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले, आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको बहस चलिरहेको र यस बहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा। भीष्मकुमार भुसालले १९९० सालको भूकम्पपछिको पुनःस्थापनाको विषयमा धारणा राख्दै भने, ‘त्यस बेला कुटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोध्दा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ । दिन जन्मेका हौँ । हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ । नागरिककै क्षमताले पुनःस्थापना हुन्छ, भनिएको थियो । सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ ।’































प्रतिक्रिया