काठमाडौं । पूर्वराष्ट्रपति डा . रामवरण यादवले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र विध्वंसलाई स्पष्ट रूपमा “प्रतिगामी, सुनियोजित र डिजाइन गरिएको” घटना भनेका छन् ।
उनले यो घटना सरकारमा रहेका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूको ठूलो कमजोरी र लापरबाहीको परिणाम भएको ठहर गरेका छन् । सञ्चारकर्मी सँगको कुराकानीमा डा. यादवले भने, “२३ गते १९ जना युवाको ज्यान गयो, घुसपैठ भएको भनियो तर राज्य सञ्चालकहरूलाई त्यसको सूचना थाहा थिएन भन्न मिल्दैन । जेनजी आन्दोलनलाई हल्का रूपमा लिइयो । यो कमजोरी तत्कालीन सत्तारुढ एमाले र कांग्रेसका नेताहरूको हो ।”
उनले दोस्रो दिन (२४ भदौ) मा भएको व्यापक तोडफोड र राष्ट्रिय सम्पदामाथिको आक्रमणलाई “प्रतिगामी डिजाइन” को संज्ञा दिए । “नेपाली नागरिकले नै गरे पनि त्यो प्रतिगामी काम हो । यो घटना सुनियोजित जस्तो देखिन्छ, राज्य पूरै बेखबर रह्यो,” यादवले भने।
यद्यपि, डा. यादवले जेनजी युवाहरूले उठाएका सुशासन, रोजगारी, बेथिति अन्त्य र सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू पूर्णतः जायज रहेको बताए । उनले जेनजी पक्षले अहिले पनि “यो संविधानभित्रैबाट निकास खोज्नुपर्छ” भन्ने अडान सही रहेको उल्लेख गरे ।
पूर्वराष्ट्रपतिको यो अभिव्यक्तिले जेनजी आन्दोलनपछिको सबैभन्दा ठूलो विध्वंसकारी घटनाको जिम्मेवारी सत्तारुढ दुई ठूला दलमाथि नै गएर अडिएको देखाएको छ ।





























प्रतिक्रिया