अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण

अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण

केन्द्रबिन्दु
9
Shares

सुरुङ्गा। अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ) की अध्यक्ष उर्मिला खतिवडालाई मेसिन वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।

अध्यक्ष दङ्गालका अनुसार सहकारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एक समूह–एक मकै रोप्ने मेसिन वितरण गरिएको हो । सहकारीमा आबद्ध २३४७ शेयर सदस्यलाई ४४४ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ ।

त्यसैगरी अन्तर समूह–४ भाङ्गबारीलाई ४२ थान हलो वितरण गर्ने तयारी गरिएको छ । “किसानले अथक मेहनत गरिरहे पनि भरपर्दो उपकरणको अभावले उत्पादनमा अपेक्षित वृद्धि हुन सकिरहेको छैन,” अध्यक्ष दङ्गालले भने, “यी उपकरणले श्रम गर्न सजिलो बनाउनाका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने हाम्रो अपेक्षा छ ।”

सहकारीले वितरण गरेको कृषि सामग्री संस्था र शेयर सदस्यको ५०–५० प्रतिशत साझेदारीमा उपलब्ध गराइएको हो । किसानमैत्री कार्यक्रमलाई प्रवर्द्धन गर्न सहकारीको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख गोम्देनले नगरपालिकाले पनि किसानमुखी कार्यक्रम सहकारीसँगको साझेदारीमा अघि बढाउने प्रतिबद्धता जनाए।

संस्थाले अर्जुनधारा नगरपालिकाअन्तर्गत वडा नं १, २, ३, ४, ५ र ७ लाई कार्यक्षेत्र बनाउँदै बर्सेनि समूहगत सहकार्यमा मल, बीउ तथा कृषि औजार वितरण गर्दै आएको छ ।

Skip This
Skip This
Logo