काठमाडौं । स्कटिस ब्याट्सम्यान मार्क वाटको शतकमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध कर्णालीले एकपक्षीय रुपमा ९ विकेट जित निकालेको हो ।
विदेशी खेलाडी मार्क वाटले ४४ बलमा शानदार ११४ रन बनाउँदै कर्णलीलाई १२.२ ओभरमै विशाल लक्ष्य पार गराएका हुन्।
१५७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णाली याक्सका लागि ओपनर मार्क वाटले खेलको दिशा नै बदलिदिए। उनको आक्रामक इनिङ्समा १२ वटा गगनचुम्बी छक्का र ६ वटा चौका समावेश थियो।
याेसँगै मार्क वाट दोस्रो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघिको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रेस गौसले शतक प्रहार गरेका थिए । उनी एनपीएल इतिहासमा शतक हान्ने पहिलो खेलाडी पनि हुन् ।
वाटलाई अर्का विदेशी खेलाडी विलियम बोसिस्टोले २० बलमा २९ रन बनाएर उत्कृष्ट साथ दिए। दुवैको अविजित साझेदारीको मद्दतले कर्णलीले केवल १२.२ ओभरमा १ विकेट गुमाएर १६१ रन बनाउँदै सहज जित दर्ता गर्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो । लुम्बिनीको इनिङ्स सुरुवात राम्रो भएन । पावरप्लेमा ३६ रन जोड्दा १ विकेट गुमाए पनि मध्यक्रममा आएको दबाबलाई कप्तान रोहित पौडेलले सम्हालेका थिए । रोहितले ४३ बलमा ४ चौका र २ छक्कासहित ४९ रन बनाए, जसले टिमलाई सम्मानजनक स्कोरसम्म पुर्यायो । उनी सोमपाल कामीको बलमा क्याच आउट भएका थिए ।
लुम्बिनीका लागि अन्य ब्याटरहरूले पनि योगदान दिए । नामिबियाका जोनाथन स्मितले आक्रामक २३ रन बनाएर इनिङ्सलाई गति दिए भने अस्ट्रेलियाका डार्सी शर्टले १९ रन जोडे । अन्तिमतिर रुबेन ट्रम्पलम्यानले २९ रन बनाउँदै लुम्बिनीको स्कोरलाई १५० पार गराए । शेर मल्ल ७ रनमा अविजित रहे । अन्य ब्याटरहरू सुन्दीप जोरा, गुलबदिन नैब, बिबेक यादव लगायतले भने उल्लेखनीय योगदान दिन सकेनन्, जसले इनिङ्सलाई बीचबीचमा झट्का दियो ।
अर्कोतर्फ कर्णालीको बलिङमा नन्दन यादवले २ विकेट लिँदै मुख्य भूमिका खेले । कप्तान सोमपाल कामी, गुल्शन झा, स्कटल्यान्डका मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए । विशेषगरी मार्क वाटको स्पिन र सोमपालको पेसले मध्य ओभरहरूमा रन प्रवाह रोकेको थियो ।





























प्रतिक्रिया