शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु, पाँच दिनसम्म अध्ययन

शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु, पाँच दिनसम्म अध्ययन

केन्द्रबिन्दु
15
Shares

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गाको गणना सुरु गरिएको छ। निकुञ्ज, नेपाली सेना र प्रकृति संरक्षणसँग सम्बन्धित संस्थाहरूको संयुक्त टोलीले गणना थालेको हो। यसका लागि ३५ जना परिचालन गरिएको छ। ‘हेड काउन्ट’ विधिबाट गणना गरिँदैछ, जसमा मचानमा बसेर, गाडी प्रयोग गरेर र हात्तीको सहयोगमा अवलोकन गरिन्छ।

गणनामा क्यामेरा, दूरबिन, टेलिस्कोप र ड्रोन प्रयोग गरिनेछ। दुर्गम क्षेत्रमा पुग्न तीनवटा हात्ती पनि प्रयोग गरिएको छ। बिहान ६ देखि ९ र साँझ ४ देखि ७ बजेसम्म गणना हुने छ। आजदेखि सुरु भएको गणना वैशाख १२ गतेसम्म चल्नेछ। यस क्रममा बाह्रसिङ्गाको संख्या, बासस्थान, आहार र जोखिमबारे अध्ययन गरिनेछ।

शुक्लाफाँटा नेपालको सबैभन्दा ठूलो घाँसेमैदान हो, जहाँ बाह्रसिङ्गाको ठूलो झुण्ड पाइन्छ। अघिल्लो वर्षको गणनामा यहाँ २ हजार १८२ बाह्रसिङ्गा भेटिएका थिए। निकुञ्जका अनुसार पछिल्ला वर्षमा बाह्रसिङ्गा अन्य क्षेत्रमा पनि फैलिन थालेका छन्, जसलाई संरक्षणका लागि सकारात्मक संकेत मानिएको छ। साथै, बाह्रसिङ्गा बाघको मुख्य आहार भएकाले यसले बाघ संरक्षणमा पनि सहयोग पुर्‍याइरहेको छ।

Logo