ललितपुर। बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ (बुंगद्य) मन्दिरको बाह्य स्वरूप कस्तो हुने भन्ने विवाद अब उच्च अदालत पाटनसम्म पुगेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माणपछि यसको बाहिरी स्वरूपमा दाँची इँटा राख्ने कि सेतो चुना पोत्ने भन्ने विषयमा सरोकारवालाबीच सहमति नजुटेपछि विवाद चुलिएको हो।
ललितपुरका रविन्द्र महर्जनले पुरातत्व विभाग, गुठी संस्थान र अन्य सरोकारवाला निकायलाई विपक्षी बनाउँदै सार्वजनिक सरोकारको मुद्दा दायर गरेका छन्। उनले मन्दिरको ऐतिहासिक स्वरूप बिग्रिने गरी सेतो चुना पोत्ने कार्य रोक्न माग गरेका छन्।
यता, ३२ पानेजु संघले परम्पराअनुसार दुई–दुई वर्षमा मन्दिरमा सेतो चुना पोत्ने प्रथा रहेको भन्दै तयारी थालेको थियो। गुठी संस्थानले पनि सोहीअनुसार निर्णय प्रक्रिया अघि बढाएको देखिन्छ।
तर उपभोक्ता समिति र अन्य पक्षले पुरातात्विक स्वरूप परिवर्तन हुने भन्दै विरोध जनाएपछि विवाद थपिएको हो। पुरातत्व विभागले भने तत्काल चुना पोत्ने काम रोक्न निर्देशन दिएको थियो।
मुद्दा दायरपछि अदालतले विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै आगामी ११ गते पेशी तोकेको छ। अन्तिम निर्णय नआएसम्म मन्दिरमा कुनै पनि रंग वा चुना नलगाउन माग गरिएको छ।































