सरकारको निर्णयप्रति सत्तरुढ सांसदकै असन्तुष्टि

सरकारको निर्णयप्रति सत्तरुढ सांसदकै असन्तुष्टि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मंगलबार (असार २) उनले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

“अब नयाँ दर्ता रोकिएको छ । यातायात व्यवसायीहरूको मुख्य सिजन दसैँ हो, दसैँ आइसक्यो, धमाधम चेसिस ल्याएर बडी बनाउने बेला छ, यही बेला दर्ता रोकिएको छ,” उनले भने, “यो बेला रोकिएको दर्ताले कसरी व्यवसायीलाई सहज हुन्छ ?”

उनले पुराना सवारी विस्थापन गर्नुपर्ने समयमा नयाँ दर्ता रोकिएको टिप्पणी गरे । तत्काल नयाँ सवारी दर्ता खोल्न उनले सरकारसँग माग गरे । उनले भने, “पुराना गाडी फेर्नुपर्छ । नयाँ गाडीको दर्ता रोक्दिने अनि पुराना फ्याँकिनुपर्ने गाडीहरू चलाउनुपर्ने ? अनि भोलि दुर्घटना भयो भन्ने ?”

यातयात मन्त्रालय हटाइएकामा पनि पनि असन्तुष्टि जनाए । संघीय सरकारमा छुट्टै यातायात मन्त्रालय नहुँदा नीति निर्माण र कार्यान्वयनमा अन्योल सिर्जना भएको उनको भनाइ थियो ।

ग्रामीण क्षेत्रमा सञ्चालन हुने ‘डबल क्याप’ सवारीमा अत्यधिक यात्रु बोक्ने गरेकाले दुर्घटना बढेको उनले उल्लेख गरे । उनले पर्याप्त सडक पूर्वाधार र ठूला सार्वजनिक सवारीको पहुँच नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । “पुराना गाडीले दुर्घटना निम्त्याउँछ । मर्मत गर्न भ्याएको हुन्न, बाटोमा कहाँ जान्छ, ब्रेक लाग्दैन कि गियर फेल हुन्छ । त्यो कति बेर के हुन्छ, थाहा हुन्न,” उनले भने ।

उनले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया पनि अव्यावहारिक रहेको बताए । लाइसेन्स परीक्षामा समेत व्यावहारिक ज्ञानभन्दा असम्बन्धित प्रश्न सोधिने गरेको उनले उल्लेख गरे ।

Logo