काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले विगत तीन दशकमा नेपालको शिक्षा क्षेत्रले पहुँच र समावेशिताका हिसाबले ठूलो फड्को मारे पनि सिकाइ उपलब्धिमा भने अझै चुनौती रहेको बताएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’मा कि-नोट स्पिकरका रुपमा शर्माले पछिल्लो समय शिक्षा क्षेत्रमा ‘लर्निङ क्राइसिस’ देखिएकाले यसलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिए ।
विगतको शैक्षिक अवस्थालाई स्मरण गर्दै शर्माले भने, ‘विगत तीन दशकको शिक्षालाई पछाडि फर्केर हेर्ने हो भने पहिलो चरणमा विद्यालयमा विद्यार्थीको पहुँच पुर्याउन ठूलो मिहिनेत गर्नुपरेको थियो । दोस्रो चरणमा हामीले यसलाई समावेशी बनायौँ र अहिले तेस्रो चरणमा सिकाइ र गुणस्तरको चरणमा आइपुगेका छौँ ।’
एक समय विद्यालयमा विद्यार्थी ल्याउनै गाह्रो हुने स्थिति रहेको उल्लेख गर्दै उनले अहिले अन्तर्राष्ट्रिय संस्था युनेस्कोले समेत नेपालमा विद्यार्थीको पहुँच उच्च रहेको स्वीकार गरिसकेको बताए । यो सफलता राज्यको लगानी, विकास साझेदार र सरोकारवाला सबैको योगदानका कारण सम्भव भएको उनको भनाइ थियो । ‘हामीले विद्यार्थीलाई विद्यालयसम्म त ल्यायौँ, तर के सोचेअनुरूपको गुणस्तरीय शिक्षा दिन सक्यौँ त? यो आजको मुख्य प्रश्न हो,’ उनले भने ।
हालैको माध्यमिक शिक्षा परीक्षाको नतिजा ६० प्रतिशतको हाराहारीमा पुगेको चर्चा गर्दै उनले यसलाई शतप्रतिशत पुर्याउन अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अहिले मुलुकमा लर्निङ क्राइसिस छ । यसलाई सुधार गर्न बालविकास केन्द्रदेखि नै जग बलियो बनाएर लैजानुपर्छ,’ उनले थपे ।
विगत तीन दशकदेखि नेपालमा सामुदायिक कि निजी विद्यालय राम्रो भन्ने बहस भावनात्मक र राजनीतिक रूपमा मात्रै चलिरहेको भन्दै उनले यसको व्यावहारिक समाधान खोज्नुपर्ने बताए । विश्वका सफल उदाहरण दिँदै शर्माले भने, ‘हामी फिनल्यान्ड र सिङ्गापुरको शिक्षाको उदाहरण दिन्छौँ, तर त्यहाँ पब्लिक र प्राइभेट क्षेत्र बराबरी हैसियतमा सहकार्य गर्दै अगाडि बढेका छन् । नेपालमा पनि सार्वजनिक-निजी साझेदारी (पीपीपी) लाई संस्थागत गर्न जरुरी छ ।’
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनले निजी विद्यालयहरूले गुणस्तर, नवप्रवर्तन र अभिभावकलाई विद्यालय छान्ने अवसर प्रदान गरेको उल्लेख गरे । निजी क्षेत्रले देशका लागि आवश्यक मानव पुँजी निर्माण गर्नुका साथै सार्वजनिक प्रणाली सुधार र स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाएको उनको विश्लेषण थियो ।
नेपाली शिक्षाको विश्वसनीयता वृद्धि गर्दै देशलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै शर्माले यसका लागि कुनै एक पक्षको प्रयास मात्र पर्याप्त नहुने स्पष्ट पारे । शिक्षा क्षेत्रको रूपान्तरणका लागि सरकार, निजी क्षेत्र, मिडिया र सम्पूर्ण सरोकारवालाहरू उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।





























प्रतिक्रिया