सीईओ ज्ञवालीको चेतावनी- ‘गोलमटोल नीति भए शिक्षामा बैंकले लगानी गर्दैन’

सीईओ ज्ञवालीको चेतावनी- ‘गोलमटोल नीति भए शिक्षामा बैंकले लगानी गर्दैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले राज्यले शिक्षा क्षेत्रलाई स्पष्ट नीतिमा नबाँधी केवल ‘सेवाभाव’ भनेर गोलमटोल कुरा मात्रै गरिरहे बैंकहरूले यस क्षेत्रमा लगानी नगर्ने चेतावनी दिएका छन्।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै सीईओ ज्ञवालीले नीतिगत स्ष्टताको खाँचो औंल्याए ।

ज्ञवालीले कुल बैंकिङ लगानीको करिब ३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा रहेको जानकारी दिए। उक्त लगानी मेडिकल कलेज, म्यानेजमेन्ट कलेज र ठूलो हिस्सा विदेशमा पढ्न जाने विद्यार्थीहरूमा केन्द्रित रहेको उनले बताए। शिक्षा क्षेत्रमा बैंकको ठुलो भरोसा रहेको उदाहरण दिँदै उनले नबिल बैंक एक्लैले मात्र यस क्षेत्रमा २२ अर्ब रुपैयाँ लगानी गरेको तथ्य समेत प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले भने, ‘शिक्षा नीति सरकार परिवर्तन हुनेसँगै परिवर्तन हुनु हुँदैन, जसका कारण निजी क्षेत्र अहिले निराश छ। शिक्षालाई सेवाभाव मात्रै भनेर गोलमटोल कुरा गर्ने हो भने बैंकले यस क्षेत्रमा लगानी बढाउँदैन। बैंकले सर्वसाधारणको पैसालाई यति हल्का ढंगले लगानी गर्न सक्दैन।’

सीईओ ज्ञवालीले बैंकहरू नाफामूलक संस्था भएकाले लगानी सुरक्षित हुने र प्रतिफल आउने सुनिश्चितता खोज्ने स्पष्ट पारे। ‘बैंकले लगानी गर्ने भनेकै हामीले दिएको ऋणबाट सम्बन्धित संस्था कमाउन सक्षम हुन्छ र बैंकको कर्जा चुक्ता गर्न सक्छ भन्ने विश्वास भएमा मात्र हो। त्यस्तो अवस्थामा हामी उत्साहित भएर लगानी गर्छौँ। त्यसका लागि कानुनी रूपमा अहिले पनि समस्या छैन र पछि पनि आउँदैन भन्ने कुरा राज्यले सुनिश्चित गरिदिनुपर्छ,’ उनले भने ।

कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने उनको भनाइ थियो।

Logo