ठोरीमा भारतीय पर्यटकलाई निःशुल्क प्रवेश सुविधा

ठोरीमा भारतीय पर्यटकलाई निःशुल्क प्रवेश सुविधा

केन्द्रबिन्दु
9
Shares

पर्सा । ठोरीस्थित छोटी भन्सार कार्यालयले मंगलबार दिउँसोदेखि भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पर्साको ठोरीस्थित छोटी भन्सारले भारतीय पर्यटकलाई प्रवेशको निःशुल्क रसिद काटेर प्रवेश दिन थालेको हो । यसले चार दिनदेखि सुस्त भएको ठोरीको पर्यटन व्यवसाय फेरि लयमा फर्किएको छ ।

वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहसहितको कर्मचारी टोलीले मंगलबार ठोरी छोटी भन्सार पुगेर यो सेवाको सुरुवात गरेको हो । अब यो भन्सारमा एक नायब सुब्बा र एक कार्यालय सहयोगी नियमित रुपमा बस्ने साहले जानकारी दिए ।

ठोरीका होटल व्यवसायी धीरसिंह घिमिरेले नेपाल सरकारको यो निर्णयले आफूहरूलाई धेरै राहत मिलेको बताए । उनले ठोरीको पर्यटन व्यवसायमा एक अर्ब रुपैयाँ बढी लगानी भइसकेको र भारतीय पर्यटकमा निर्भर यहाँको होटल व्यवसाय भारतीयको प्रवेश नै असहज भएको अवस्थामा सुस्त भएको बताए ।

अब ठोरीमा आउने भारतीय पर्यटकले ठोरी वरपरको चार-पाँच किलोमिटर क्षेत्रसम्म बिनारोकटोक आवागमन गर्न पाउनेछन् ।

Logo