कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ ।
लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन् । गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर गर्दै रोगको निगरानी र समुदायस्तरको सचेतना अभियानलाई प्रभावकारी बनाइएको उनले बताए ।
उहाँका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको छ । रोगका लक्षण, सङ्क्रमणबाट बच्ने उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्य अघि बढाइएको छ ।
जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कमा असर गर्ने गम्भीर भाइरल रोग हो । यो लामखुट्टे विशेषगरी धानखेत, पानी जम्ने स्थान, फोहरले भरिएका नाली, दलदले क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानको आसपास बढी पाइन्छ । सङ्क्रमित सुँगुर वा जलचर चराको रगत चुसिसकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्छ । “यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन”, निरीक्षक भट्टले भने ।
भट्टका अनुसार अधिकांश सङ्क्रमितमा कुनै विशेष लक्षण नदेखिन पनि सक्छ । सङ्क्रमण गम्भीर बनेमा उच्च ज्वरो आउने, असह्य टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने, शरीरमा झट्का लाग्ने, बेहोस हुने, मानसिक अवस्था परिवर्तन हुने तथा मस्तिष्कमा सुन्निने समस्या देखिन सक्छ । विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको असर बढी गम्भीर हुने र समयमै उपचार नपाए स्थायी अपाङ्गता वा मृत्युको जोखिमसमेत रहने उनले बताए ।
यस रोगको भाइरस नष्ट गर्ने विशेष औषधि हालसम्म उपलब्ध नभएकाले बिरामीको अवस्थाअनुसार ज्वरो नियन्त्रण, सास फेर्न सहयोग गर्ने तथा अन्य सहायक उपचार गरिने उनले बताए । स्नायु प्रणालीसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरे ।
सन् १९७१ मा जापानमा पहिलो पटक पहिचान गरिएकाले यस रोगको नाम जापनिज इन्सेफ्लाइटिस राखिएको हो । नेपालमा भने पहिलोपटक सन् १९७८ मा रूपन्देहीमा भारतबाट आएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । हाल नेपालका २४ जिल्ला यस रोगबाट प्रभावित जिल्लाका रूपमा सूचीकृत छन् भने करिब ४० जिल्लामा विभिन्न समयमा छिटपुट सङ्क्रमणका घटना सार्वजनिक भएका छन् ।































