एटलान्टा । विश्वकप २०२६ को फाइनल समीकरण पूरा भएको छ । यसमा भिड्दै छन्, दुई फरक विशेषता बोकेका टिम, अर्जेन्टिना र स्पेन । यो फाइनल दुई फरक शैलीबीचको मैदानी भिडन्त पनि हुनेछ । एउटा टिमको बलियो पक्ष भनेकै आक्रमण । अर्को टिमको त्यस्तै सुदृढ पक्ष भनेको रक्षापंक्ति हो ।
विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेसी एक छेउमा हुनेछन् । उनकै नेतृत्वमा छ, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना । आइतबार हुने फाइनल न्यु जर्सीको इस्ट रडरफोर्डमा हुनेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो ।
‘कमब्याक किङ’ रहेको अर्जेन्टिनाले भने इंग्ल्यान्डलाई हराएको हो । अब अर्जेन्टिनासँग चौथोपल्ट विश्वकप जित्ने अवसर हुनेछ । यसक्रममा टोलीले लगातार दुईपल्ट विश्वकप जित्नुपर्नेछ । ब्राजिलले यस्तै उपलब्धि सन् १९५८ र १९६२ मा चुमेको थियो ।
स्पेन भने सन् २०१० यता पहिलो उपाधि जित्ने उद्देश्यमा हुनेछ । अर्जेन्टिना यस विश्वकपमा सबैभन्दा बढी गोल गर्ने टिम हो । टोलीले १९ गोल गरेको छ । रमाइलो के भने यस विश्वकपमा सबैभन्दा कम गोल खाने टिम हो, स्पेन । अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपमा दुई टिममध्ये एकले हार मान्नै पर्नेछ ।
अमेरिका, क्यानडा र मेक्सिकोको भएको १ सय ४ खेलको विश्वकपमा अब सबैको ध्यान जाने एकै खेल मात्र बाँकी छ । विश्वकप जत्तिको प्रतियोगितामा यो साइत जुर्छ भने त्यो भन्दा राम्रो के नै हुनसक्छ र ? जतिबेला कोपा अमेरिका र युरोपेली च्याम्पियन भिड्छन्, त्यो ‘फाइनललिसिमा’ हुने गर्छ । अहिलेको फाइनल त्यस्तै खेल भयो ।
दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच गत मार्चमै कतारको दोहामा खेल हुन लागेको थियो । त्यसलाई अहिलेको विश्वकपअगाडि मेसी र लामिन यामलबीचको भिडन्तका रूपमा चित्रण गरिएको थियो । तर त्यो खेल हुनै पाएन । मध्यपूर्वमा बढेको तनावबीच सुरक्षा कारण देखाएर यो खेल स्थगित गरिएको थियो । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
त्यसैक्रममा इरानले आफ्नो छिमेकीमाथि पनि आक्रमण गरेको थियो, विशेषतः कतारविरुद्ध । अहिलेसम्म यो युद्ध रोकिएको छैन र त्यो बहुप्रतीक्षित खेल हुनै पाएन । अबको फाइनलको एउटा अर्को ठूलो विशेषता छ । यो हो, फिफा वरीयताको शीर्ष दुई स्थानमा रहेको टिमबीचको भिडन्त । विश्वकप अगाडि जारी गरिएको वरीयतामा अर्जेन्टिना नम्बर १ टिम र स्पेन २ नम्बर टिम थियो ।
यसैबीच अर्जेन्टिना र स्पेन फाइनलमा भिड्ने भएपछि सन् २००७ मा खिचिएको एउटा तस्बिर फेरि चर्चामा आएको छ । त्यति बेला मेसी युनिसेफको एउटा कार्यक्रमसँग आबद्ध थिए । यसैक्रममा एउटा बच्चालाई लिएर तस्बिर खिचेका थिए । ती बच्चा अरू कोही थिएनन्, स्पेनिस टोलीका स्टार यामल नै थिए । अचेल मेसी इन्टर मियामीका लागि खेल्छन्, जबकि यामल बार्सिलोनाका लागि । कस्तो संयोग, दुई दशकअगाडि खिचिएको एउटा दुर्लभ तस्बिरमा भएका दुई पात्रबीच अब यसपल्टको विश्वकप फाइनल हुन लागेको छ । यसैलाई त भन्ने हो, ‘पिक्टर फर्केक्ट’ ।
यस्तै फाइनल प्रवेश गर्न अगाडि दुवै टिम आफ्नो अपराजित यात्रामा छन् । स्पेन त सबै खाले प्रतियोगितामा नहारेरको कीर्तिमान ३७ खेल पुगिसकेको छ, त्यसमा २८ जित र ९ बराबरी छ । स्पेन अन्तिम पटक सन् २०२४ मा कोलम्बियासँग हारेको थियो । अर्जेन्टिना भने विश्वकपका १३ खेलमा अपराजित छ । यसमा ११ जित र २ बराबरी सामेल छ । सन् २०२२ को विश्वकपको लिग चरणमा अर्जेन्टिना सनसनीपूर्ण रूपमा साउदी अरेबियासँग पराजित रहेको थियो । तर अहिले त्यसै खेलयता अर्जेन्टिनाले विश्वकपमा हार्न बिर्सेको छ ।































