काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनमा चीनको हस्तक्षेपबारे नयाँ अनुसन्धान गर्न निर्देशन दिएका छन् । यससँगै सम्बन्धित गोप्य गुप्तचर दस्ताबेज सार्वजनिक गर्ने उनले घोषणा पनि गरेका छन् । ट्रम्पले यसबाट अमेरिकी निर्वाचन प्रणालीका गम्भीर कमजोरीहरू उजागर हुने दाबी गरेका छन् ।
बिहीबार ह्वाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाए । उनले चीनले सन् २०२० को निर्वाचन प्रक्रियादेखि २२ करोड अमेरिकी मतदातासम्बन्धी अभिलेखमा पहुँच हासिल गरेको आरोप लगाए ।
ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र संघीय अनुसन्धान ब्युरोलाई यी आरोपबारे अनुसन्धान गर्न तथा डाटा चुहावटको वास्तविक अवस्था पत्ता लगाउन निर्देशन दिएको बताए ।
ट्रम्पले यो घटनाले अमेरिकी निर्वाचन प्रणाली हेरफेर र भ्रष्टाचारको जोखिममा रहेको देखाएको दाबी गरे । उनले संघीय निकायहरूले प्रभावित हुन सक्ने राज्यहरूलाई जानकारी गराउने प्रक्रिया अघि बढाइरहेको बताए ।
उनले निर्वाचन सुरक्षालाई थप कडा बनाउन ‘सेभ अमेरिका एक्ट’ पारित गर्न अमेरिकी कंग्रेसलाई पुनः आग्रह गरे । उक्त कानुन लागु भएमा देशभर मतदाता परिचयपत्र अनिवार्य हुने व्यवस्था गरिने प्रस्ताव गरिएको छ ।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो भाषण प्रत्यक्ष प्रसारण नगर्ने टेलिभिजन नेटवर्कहरूको आलोचना गरे । उनले त्यस्ता सञ्चारमाध्यमको प्रसारण इजाजतपत्र नै खारेज गरिनुपर्ने टिप्पणी गरे ।
अमेरिकी समाचार संस्थाहरू एबीसी र एनबीसीले ट्रम्पको सम्बोधन आफ्ना मुख्य टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण नगरी केवल स्ट्रिमिङ प्लेटफर्ममार्फत उपलब्ध गराएका थिए । सीएनएनले भने उक्त सम्बोधन प्रसारण गरेको जनाएको छ ।
यसैबीच, ह्वाइट हाउसले निर्वाचनमा हस्तक्षेपका दाबीसँग सम्बन्धित दस्ताबेजहरू आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ । यी आरोपहरूले अमेरिकामा निर्वाचन सुरक्षा तथा वैदेशिक हस्तक्षेपसम्बन्धी बहसलाई थप तीव्र बनाउनेछ । डीडब्ल्यू































