काठमाडौं । विश्वव्यापी ईस्पोटर्स उद्योगको आम्दानी यस वर्ष २ अर्ब अमेरिकी डलर नाघ्ने अनुमानबीच फ्रान्सको पेरिसमा ७ करोड ५० लाख डलर (करिब ११ अर्ब नेपाली रुपैयाँ) कुल पुरस्कार राशिको ईस्पोटर्स विश्वकप चलिरहेको छ। पश्चिम एसियामा बढ्दो तनाव र इरानमा जारी युद्धका कारण रियादमा हुने तयारी भएको यो विश्वकप हाल पेरिसमा सारिएको हो। यसमा नेपालबाट फ्री फायर विधामा द रियल सोल्जर्स (डीआरएस) गेमिङ र पबजी मोबाइलमा होरा ईस्पोटर्स छानिएका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा चलिरहेको फुटबल विश्वकपको रौनकबीच गत साता पेरिसमा ईस्पोर्ट्स विश्वकप सुरु भएको हो। तेस्रो संस्करणको प्रतियोगितामा अहिले १०० भन्दा बढी देशका २ सयभन्दा बढी क्लब र २ हजारभन्दा बढी खेलाडी सहभागी हुँदै छन्। सात सातासम्म चल्ने प्रतियोगितामा २४ खेलका २५ विधामा प्रतिस्पर्धा भइरहेको छ। विश्व ईस्पोटर्स इतिहासमा यो अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता हो।
फ्री फायर विधामा क्षेत्रीय छनोट प्रतिस्पर्धा पार गर्दै विश्वकपमा स्थान बनाएको डीआरएस ईस्पोर्ट्स विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो टोली बन्न सफल भएको छ । कुल २४ टोली सहभागी फ्री फायर प्रतिस्पर्धामा डीआरएसले यस सातादेखि विश्वका स्थापित टोलीसँग प्रतिस्पर्धा सुरु गरेको छ। पहिलो केही चरणमा उत्कृष्ट १० मा अटाउन सफल भएको छ। हाल डीआरएस सातौं स्थानमा छ।
नेपालको फ्री फायर गेमबारे जानकार विशाल सापकोटाका अनुसार पेरिसमा नेपाली खेलाडी निकै आत्मविश्वाससाथ प्रस्तुत भइरहेका छन्। ‘उनीहरूले आइडल मान्दै आएका विश्वका चर्चित टिमविरुद्ध पनि नर्भस नभई उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ विशालले भने, ‘पहिलो पटक यो स्तरको ग्लोबल स्टेजमा पुगेकाले फाइनलमा पुग्ने र पोडियम फिनिस गर्ने (उत्कृष्ट तीनभित्र पर्ने) लक्ष्य छ। अहिले हामी सातौं स्थानमा छौं र सर्भाइभल स्टेजका लागि आफ्नो ठाउँ सुरक्षित गर्नेमा आशावादी छौं।’
पब्जी मोबाइलमा दक्षिण एसियाबाट नेपालको होरा ईस्पोटर्स र पाकिस्तानको फोरथ्राइभ्स ईस्पोटर्स छनोट भएका छन्। होरा टिम अगस्ट ३ मा पेरिस प्रस्थान गर्ने तयारीमा छ । यस टिममा सुवास राना ‘नो फियर’, आकाश सोताङ राई ‘स्काई’, शीतल राई ‘स्लिपी’, सुप्रिम अधिकारी ‘जिगल’, प्रवेश गुरुङ ‘हैट दामी’ र उजेन लामा ‘निन्जा होरा’ खेलाडी समावेश छन्। टिमको प्रशिक्षण दिनेश रोका मगरले सम्हालिरहेका छन्। गत वर्ष साउदीमा भएको प्रतियोगितामा नवौं स्थान हासिल गर्दै होरा स्पोर्ट्सले १ लाख २७ हजार ५ सय अमेरिकी डलर (करिब १ करोड ७८ लाख रुपैयाँ) पुरस्कार जितेको थियो।
होरा स्पोर्ट्सका संस्थापक एवं सञ्चालक सीआर सेभेन होरा (सञ्जन गौतम) का अनुसार दक्षिण एसियाली छनोटबाट छानिएर विश्वकप पुग्नु निकै मिहिनेतको काम हो। ‘यस पटक हामीले सकेसम्म जितिछाड्ने, जित्न नसके पनि पोडियम फिनिस गर्ने अठोट लिएका छौं,’ उनले भने, ‘हाम्रो टिमले दैनिक रूपमा विश्वका उत्कृष्ट टिमहरूसँग अभ्यास गरिरहेको हुँदा हामी नभर्स छैनौं। हामीले अन्तर्राष्ट्रिय खेलबाट जितेर ल्याएको पुरस्कारमा सरकारले २५ प्रतिशत कर काट्छ तर खेलको विकासका लागि अहिलेसम्म केही गरेको छैन।’
ईस्पोर्ट्स फाउन्डेसनले आयोजना गरेको विश्वकप अगस्ट २३ सम्म चल्नेछ। फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र चेस लिजेन्ड म्याग्नस कार्लसन यस प्रतियोगिताका ग्लोबल एम्बासडर (दूत) रहेका छन्। फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राल्फ राइखर्टले पेरिसमा आयोजना गरिएको यस संस्करणले ईस्पोटर््स विश्वकपलाई साउदी अरेबियाबाहिर विस्तार गर्ने नयाँ अध्याय सुरु भएको बताएका छन्। यस वर्ष प्रतियोगितामा लिग अफ लेजेन्ड्स, काउन्टर–स्ट्राइक टु, डोटा टु, भ्यालोरान्ट, मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ, पब्जी मोबाइल, फ्री फायर र चेसलगायतका लोकप्रिय खेल समावेश छन्।
केही विधाका प्रतिस्पर्धा सम्पन्न भइसकेका छन् भने क्लब च्याम्पियनसिपको अंक तालिकामा विश्वका चर्चित ईस्पोटर््स क्लबहरूले प्रारम्भिक अग्रता बनाएको देखिन्छ । विश्वव्यापी ईस्पोटर््स उद्योगको आम्दानी यस वर्ष २ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान छ। प्रतियोगिताले प्रतिस्पर्धात्मक अनलाइन गेमिङको बढ्दो व्यावसायिक विस्तारलाई देखाउने बीबीसीले जनाएको छ।
सन् २०२३ मा इन्डोनेसियाको जकार्तामा भएको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ को ग्रान्ड फाइनल्समा डीआरएस गेमिङले दोस्रो स्थान हासिल गर्दै २ करोड रुपैयाँभन्दा बढी पुरस्कार भित्र्याएपछि नेपालमा ईस्पोर्ट्सप्रति ठूलो चासो बढेको थियो। सोही सफलतापछि सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्ने संकेत दिँदै ईशान र नेसाजस्ता नियामक निकायहरू गठन गरेको हो। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा ईस्पोटर््स प्रवर्द्धनका लागि १ करोड रुपैयाँ नै विनियोजन गरेको थियो। तर उक्त बजेट कार्यान्वयनको चरणमा विवादरहित रहन सकेन।































