सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन् -मन्त्री बज्राचार्य

सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन् -मन्त्री बज्राचार्य

केन्द्रबिन्दु
70
Shares

हेटौंडा । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

मंगलबार ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गरेका मन्त्री बज्राचार्यले हाल थोरै संख्याका सहकारी सञ्चालकको स्वार्थका कारण समस्यामा परेको र बदनाम बनिरहेको सहकारी क्षेत्रमा ९९ प्रतिशत राम्रा सञ्चालक रहेको जिकिर गरे ।

उनले वर्तमान परिस्थितिमा सहकारीहरु आफैंपनि एकजुट हुन जरुरी रहेको धारणा राखे । सहकारी क्षेत्रकै कारण देशको अर्थतन्त्र बलियो भएको र सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्नेमा मन्त्री बज्राचार्यले जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी क्षेत्रमा बागमती प्रदेशमा मात्र ५१ अर्ब रुपैयाँ शेयरपुँजी रहेको जानकारी गराए । उनले यस क्षेत्रका सहकारीमा धेरैजसो महिलाहरु आवद्ध रहेको बताए । प्रदेश सरकारले सहकारीको अनुगमनलाई व्यापक बनाएको जिकिर देवकोटाले गरे ।

उनले देशभरका ३० हजार सहकारी संस्थाहरुलाई एकिकरण गरेर १० हजार सहकारी बनाउन आफूहरु लागिरहेको बताए ।

मकवानपुरका गाउँ गाउँ र हेटौंडाका विभिन्न्न वडाबाट आफ्ना सहकारी संस्थाका व्यानरसहित निस्किएका सहकारीकर्मीहरुले हेटौंडा बजारको परिक्रमा गरी हेटौंडाको एक पार्टी प्यालेसमा सभामा परिणत भएको थियो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको औपचारिक शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । सहकारीको क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियता बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

Logo