पदाधिकारीकै अन्योलताभित्र नाडा, व्यवसायिक मनमुटावले यसरी हुँदैछ टसलको सिर्जना

पदाधिकारीकै अन्योलताभित्र नाडा, व्यवसायिक मनमुटावले यसरी हुँदैछ टसलको सिर्जना


काठमाडौं । संस्थाको दीर्घकालीन स्थायित्वका लागि नेतृत्व तहमा आपसी सम्मान र सहयोगको भावना विकास गर्नु अपरिहार्य हुन्छ । संस्थाकै पदाधिकारीबीच बिचार, योजना नमिल्नु र कार्य सम्पादनमा सहयोग नहुनाले संस्था भित्र ठूलो दुर्घटना निम्त्याएका उदाहरण धेरै छन् ।

आज यही चपेटाबाट गुज्रिरहेको छ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) । अटोमोबाइल कम्पनीहरूको साझा संस्था भई लामो समयदेखि आफ्नो उत्कृष्ट छविलाई कायम राख्दै आएको नाडा भित्रैका पदाधिकारीबीच उत्पन्न विवादले संस्थामा समस्या सिर्जना भएको पाइएको छ ।

करण चौधरी नेतृत्वको टिमले अहिले नाडाको नेतृत्व गरिरहेको छ । तर, टिम भित्रै मनमुटाव झल्किदा नाडाले अटोमोबाइल क्षेत्रमा पुर्‍याउनसक्ने योगदानको महसुस गर्न नपाएको व्यवसायीहरू स्वयम बताउँदै आएका छन् ।

वि.सं. २०८० को मंसिरमा भएको नाडाको ४७ औं साधारण सभाले नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चौधरी नेतृत्व चुनिएको हो । नयाँ नेतृत्व आएपछि पदाधिकारीहरूले उत्साहजनक प्रर्फमेन्सको अपेक्षा अटो व्यवसायीहरूले राखेका थिए । तर, कार्यसमिति चुनिएर आएदेखि नै कुनै न कुनै विषयलाई लिएर मनमुटाव प्रक्रियाले अहिलेसम्म नाडालाई छाडेको छैन ।

जे होस्, आकाश गोल्छालाई आगामी अध्यक्ष बनाउने सर्वसहमति भई सर्वसहमतले यस कार्यकालको अध्यक्ष चौधरी बनेका हुन् । आगामी अध्यक्ष बन्नको लागि सहज होस् भनी नाडाको विधान संशोधन गरी गोल्छालाई वरिष्ठ उपाध्यक्ष दिने र अर्को कार्यकालमा स्वतः उनी अध्यक्ष हुने भनी सर्वसहमतिको बाटो रोजिएको थियो ।

साथै, विधान संशोधनबाटै दुई मनोनीत सदस्य थप्ने गरी जसको जिम्मेवारी निशान ढकाल र अभीक ज्योतिलाई दिइयो । विधान संशोधनलाई प्रक्रियामै छाडेर गोल्छालाई वरिष्ठ उपाध्यक्ष भनेर नाडाको वेबसाइटमा राखियो । तर, अहिले उक्त विधान संशोधन नभए पछि गोल्छालाई सदस्यमा झार्दा, ढकाल र ज्योतिलाई हटाइदा यहाँ थप विवाद चर्किन थालेको हो ।

नाडा सदस्य आकाश गोल्छाले नाडा सचिवालयको कमजोरीका कारण नै विधान संशोधन नभएको बताए । ‘विधान संशोधन नियम विपरीत छैन, सचिवालयको कमजोरीले सम्बन्धित निकायबाट विधान संशोधन पारित हुन सकेन, संशोधन गरेको डेढ वर्षसम्म नाडा सचिवालयले परितका लागि नगएपछि संशोधन हुन नसकेको हो,’ उनले भने ।

उक्त विधान अब काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट संशोधन नहुने टुङ्गो लागि सकेको छ । तर, विधान संशोधन फोरी गर्नको लागि संशोधन अनुमोदन गरेर साधारण सभामा लिएर जानु पर्ने नाडाका कार्यसमितिका एक सदस्यले जानकारी दिए ।

‘विधान संशोधनको सीडीओले गराउँछु भनेर उहाँको जिम्मा लगाएर वकिल मर्मत सबै प्रक्रिया अगाडि बढेको थियो, करण, आकाश सर पनि संशोधनका निमित्त सीडीओलाई भेटिराख्नु हुन्थ्यो, सीडीओले स्वीकृति दिएपछि विधान संशोधनले पूर्णता पाउने थियो, तर अन्तिम अवस्थामा आएर विधान संशोधन नहुँने टुङ्गो लाग्यो,’ स्रोतले भयो ।

यद्यपि गोल्छाले काठमाडौं जिल्ला प्रशासनबाट जे निर्णय आउँछ त्यही स्विकार गर्ने नाडा निर्णयमा उनले हस्ताक्षर गरिसकेको स्रोतले बतायो । यति मात्र नभई अटो व्यवसायी नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) र नाडा गरी दुई धारमा विभाजित छन् ।

विभाजित नाडा कार्यसमितिले नै नाइमा साथ दिइरहेका छन् । संस्थामा भएकै कार्यसमितिले नाइमामा साथ दिँदा नाडामा अन्योलताको सिर्जना भएको स्रोतको दाबी छ । विभाजित भएपनि यसरी कार्यसमिति सदस्य नै नाइमाको पक्षमा लागेर संस्था भित्रको वातावरण खलबल्याउनुको परिणाम उचित नहुने स्रोतको भनाई छ । साथै, नाइमा जन्मिनुको कारण पनि व्यवसायीबीचको आन्तरिक द्वन्द्व रहेको धेरै अटोमोबाइल व्यवसायीहरूको निष्कर्ष छ ।

अब स्वतः अध्यक्ष बन्लान् गोल्छा ?

आकाश गोल्छा स्वतः अध्यक्ष बन्ने भन्ने निर्णय बमोजिम नै चाैधरी अध्यक्ष बनेका हुन् । तर, अहिले विधान संशोधन नभएपछि गोल्छालाई सदस्यमा झारिँदा यहाँ ट्विस्ट खडा भएको छ । अहिलेका सिनारियो हेर्दा गोल्छा अबको स्वतः अध्यक्ष बन्नसक्ने सम्भावना न्यून देखिन्छ । तर, आफू अध्यक्ष बन्नसक्ने विषयमा गोल्छा विश्वस्त छन् ।

‘समस्या कसैले ल्याएको हुनसक्छ, तर म अबको अध्यक्ष बन्नमा त्यति गाह्रो देख्दिनँ, स्वतः नभए अर्को पटक चुनाव हुनसक्ला,’ उनले भने । नाडामा अहिले जुन हिसाबबाट काम भइरहेको छ, त्यो हिसाबबाट राजनीति गर्ने, अनावश्यक हरेक मिटिङमा झगडा गरेर काम गर्न मज्जा नआउने गोल्छाले बताए ।

‘राम्रो काम गर्न सकिन्छ भने अध्यक्ष बन्ने हो, अध्यक्ष पदमा बस्नको लागि मात्र म अध्यक्ष बन्दिनँ, टिमले काम गर्न चाहन्छ, सोच मिल्याे भने आगामी अध्यक्षको आकांक्षी हुन्छु, त्यहाँ राजनीति र झगडा गर्न म जादिनँ,’ उनले भने । सबै विषयहरू मिल्दै गए अध्यक्ष बन्ने र काम पनि गर्ने उनको तर्क छ ।

अध्यक्ष भएपछि पदाधिकारीलाई मिलाएर काम गरी अगाडि बढ्ने क्षमता हुनुपर्ने गोल्छाले बताए ।

यता नाडाका चौधरी पनि गोल्छालाई अध्यक्ष बनाउन आगामी दिनमा पूर्ण साथ रहेको दाबी गरे । ‘मैले आकाश सरलाई अबको अध्यक्ष भनेर भनेको छु, उहाँलाई अध्यक्ष बनाउन म पछि हट्ने छैन, उहाँलाई मेरो तर्फबाट पूर्ण सहयोग हुन्छ,’ उनले भने । गोल्छालाई आगामी अध्यक्ष बनाउन आफ्नो समर्थन रहेको चौधरीको भनाई छ ।

सम्बन्धित समाचार

व्यवसायीबीचको टकरावले टुक्रियो नाडा, कसरी भयो उथलपुथलको सिर्जना ?

स्टल बुकिङ नै नभएपछि नाडाले दियो रजिष्ट्रेशनलाई निरन्तरता, अटो शोमा सहभागी हुन कतिले देखाए इच्छा ?

Logo