काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को अपनत्व द्रुत गतिमा बढिरहेको छ, जसले विकासका महत्त्वपूर्ण अवसरहरू सिर्जना गरेको छ। विशेषगरी, देशको जलविद्युत उत्पादन क्षमताको सदुपयोग गर्दै, ईभीले पेट्रोलियम पदार्थको आयातमा हुने ठूलो खर्च घटाउने र व्यापार घाटा कम गर्न सहयोग पुर्याउँछ। वातावरणीय दृष्टिकोणले हेर्दा, यसले सहरी क्षेत्रमा वायु प्रदूषण न्यूनीकरण गरी जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नेपालको कार्बन फुटप्रिन्ट लाई कम गर्न मद्दत गर्छ। यो क्षेत्रले रोजगारी सिर्जना गर्ने र हरित अर्थतन्त्रलाई टेवा दिने पनि सम्भावना बोकेको छ। यद्यपि, ईभीको व्यापक अपनत्वमा केही महत्त्वपूर्ण चुनौतीहरू छन्।
यसैबीच केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएकाे ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत ‘नेपालमा ईभी अपनत्वः विकासका अवसर तथा चुनौतीहरू’ विषयमा प्यानल डिस्कसन भएकाे छ । नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सञ्चालन गरेको यस छलफलमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, साइमेक्स इंक प्रालिको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, वैकल्पीय ऊर्जा प्रवद्र्धन केन्द्रकी निर्देशक शुभलक्ष्मी श्रेष्ठ, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले आफ्ना धारणा राखेका थिए ।
साइमेक्स इंक प्रालिकी निर्देशक यमुना श्रेष्ठले नेपालको भौगोलिक अवस्था र घरेलु ऊर्जाको उपलब्धताका कारण ईभीको प्रयोग बढिरहेको बताइन् । ईभीको सहजताले गर्दा यसप्रति मानिसहरूको आकर्षण बढेको पनि उनको दाबी थियो ।
‘अहिलेका ईभीहरू ४०० देखि ५०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन्, तर दैनिक औसत ३०–४० किलोमिटर मात्र चलाइन्छ ।’ पिक पावरमा बचत गर्दै अफपिक आवरमा स्टोरेज प्रणाली विकास गरिनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘६०ः४० वित्तीय नीतिको लागि राष्ट्र बैंकसँग छलफल आवश्यक रहेको छ ।’
ब्याट्री रिसाइक्लिङको विषयमा उनले थपिन्, ‘बीवाईडी कम्पनीले अमेरिकी र मलेसियन फर्महरूसँग सम्झौता गरेको छ, तर नेपालमै ब्याट्री रिसाइक्लिङ गर्नुपर्ने र हरेक ६ महिनामा आयात भएका गाडीहरूको विवरण वेबसाइटमा प्रविष्ट गर्न अनिवार्य गरिएको छ ।’
यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी निर्देशक शुभलक्ष्मी श्रेष्ठले नेपालमा सौर्य ऊर्जाको प्रयोग उल्लेख्य भए पनि ईभी चार्जिङका लागि अहिलेसम्म सौर्य ऊर्जा सीमित मात्रामा प्रयोग भइरहेको जानकारी दिइन् । ‘विद्युत ग्रिड अहिले ठिक छ, सौर्य ऊर्जा प्रयोग भविष्यमा सम्भाव्यता अध्ययन गर्ने छौं,’ उनले भनिन्। विन्ड उर्जा प्रयोग नगण्य भए पनि सौर्य छतमा इन्स्टलेसनमा उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ ।
नेपाल बैंकर एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले भने, ‘ईभीको लागि बैंकिङ लगानी ६०ः४० को नीति अनुसार अगाडि बढिरहेको छ । ब्याजदर पनि कम राख्नुपर्ने छ।’ नर्वेमा ईभी बिक्रीमा देखिएको वृद्धि र बीवाईडी कम्पनीको उत्पादन विस्तारको उदाहरण दिँदै उनले नेपालमा पनि सार्वजनिक यातायातका लागि विशेष प्रोत्साहन आवश्यक रहेको औंल्याए ।
यस्तै, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भने, ‘नेपालमा १ लाख किलोमिटर सडक सञ्जाल छ र चार्जिङ स्टेशनहरू स्थापना भइरहेको छ । अहिलेसम्म ६० भन्दा बढी स्टेशन स्थापना भइसकेका छन् भने १२४ स्थानमा थप स्थापना गर्ने योजना छ ।’
पूर्व–पश्चिम राजमार्ग र पर्यटकीय क्षेत्रहरूमा प्राथमिकता दिइने र दातृ निकायहरूसँग पनि सहकार्य रहँदै हाल ३५ सय मेगावाट विद्युत उत्पादन भइरहेको र चार्जिङ स्टेशनहरूको निरन्तर विकासमा करीब १.७५ अर्ब खर्च भइसकेको उनले जानकारी दिए ।





























प्रतिक्रिया