संकटकालको निराधार हल्लाले शेयर बजारमा २१ अंकको गिरावट

संकटकालको निराधार हल्लाले शेयर बजारमा २१ अंकको गिरावट


नेपाली शेयर बजार अघिल्लो कारोबारको दिन अर्थात सोमबार ३२ अंक घटेर बन्द भएको नेप्से आज मंगलबार २१ अंक घटेर बन्द भएको छ । देशको राजनीतिक घटनाक्रम, त्यसमा पनि संकटकाल घोषणाको हल्लैहल्लाले मंगलबार शेयर बजार प्रभावित भएको विश्लेषण गरिएको छ । सो हल्लाका कारण बजार खुल्ने बित्तिकै नेप्से तीव्र गतिमा ओरालो लागेको थियो ।

कारोबारको सुरुवातमै नेप्से ओरालो लाग्दा लगानीकर्ताहरु त्रसित भइ बिक्री गर्न थालेपछि मंगलबार झनै कारोबार ओरालो लागेको हो । बजारले पटक पटक सकारात्मक दिशा समात्न प्रयास गरेपनि बिक्रीकर्ताको चाप थाम्न नसक्दा बजार ओरालो लागेको हो । कारोबारको अन्तिम एक घण्टामा नेप्से सकारात्मक दिशा तर्फ अघि बढेपनि अघिल्लो दिनको बन्द विन्दुलाई भने भेट्नसकेन ।

मंगलबार नेप्से परिसूचक २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेर ४६७.९४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने सन्तोषजनक नै देखिन्छ । यस दिन बजारमा २०५ कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज, नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

पछिल्ला ७ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य आज ६६ रुपैयाँ घटेर ५९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक ०.९ प्रतिशत बढेको हो । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३३ प्रतिशत घटेको छ । त्यसैगरी, होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ । 

मंगलबार कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रह्यो । बैंकको आज ७३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन अपर तामाकोशीको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Logo