फलाम पिटेर जीविको पार्जन तर अझै भएन व्यवसायीक

फलाम पिटेर जीविको पार्जन तर अझै भएन व्यवसायीक


काठमाडौं ।

बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ ।

बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेमबहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आएका छन् । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामाग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ । विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आएका छन् । लामो समयदेखि आरन पेशा अपनाएका विकले जीवन निर्वाह बाहेक जीवनमा कुनै परिवर्तन नआएको गुनासो गरे । वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको उनको भनाई छ । एसएलसी उत्र्तीण गरेका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखि फलाम पिट्ने काम गर्दै आएकी छिन् । उनले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिन्छिन् । आरन पेशाबाट घरमा खानेकुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उनको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गरिन् ।

बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौं छन् । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन । बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ ।

Logo