शेषराज भट्टराईको प्रतिबद्धताः ‘शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्छु’

शेषराज भट्टराईको प्रतिबद्धताः ‘शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्छु’


शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)को अध्यक्षको उम्मेदवार शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा उभ्याएर नयाँ उचाईमा पु-याउनको लागि नेतृत्वमा पुग्नैपर्छ भन्ने सोचमा आफू चुनावी मैदानमा होमिएको बताएका हुन् । कन्सल्टेन्सी दर्ता गर्न शिक्षा मन्त्रालयले माग गरेको धरौटी रकम खारेज गर्न संघर्ष गर्ने पनि उनले बताए । 

साथै भट्टराईले विभिन्न नाममा सिर्जित उल्झन, व्यवधान, शंका र टिप्पणीले यो क्षेत्रमाथि प्रहर भइरहेको बताउँदै सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने बताएका छन् । उनले इक्यानियनको भावनालाई आफ्नो समूहले समेटेर अघि बढ्ने भएकाले अमूल्य मत दिइ विजय गराउन आग्रह पनि गरे । 

भट्टराई समूहबाट उपाध्यक्ष पदका लागि श्रीराम पौडेल, गीता सिवाकोटी (गीताञ्जली) र दयाराम थापाले उम्मेदवारी घोषणा गरेका छन् । महासचिव पदका लागि दिपकराज भुषाल, सचिव पदका लागि भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष पदको लागि आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । यसबाहेक कार्यसमिति सदस्यमा भट्टराई समूहबाट गोविन्द खनाल, होमराज थापा, रमेश लुइँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयकुमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र ई. मनोरथ साहले उम्मेदवारी घोषणा गरेका छन् । 

Logo