विवादमा तानिएका २८ गीत (भिडियो)

विवादमा तानिएका २८ गीत (भिडियो)


कलाकार प्रकाश सपुतको गीत 'पिर'ले माओवादी केन्द्र र सो पार्टीका केही नेताकार्यकर्तालाई केही समय पिरोल्यो ।

गीतको भिडियोमा प्रस्तुत गरिएका केही दृश्यप्रति आपत्ति जनाउँदै उसका नेताकार्यकर्ताबाट आएका अभिव्यक्ति र चेतावनीपूर्ण शब्दले सामाजिक सञ्जाल लामै समय रंगियो । यूट्युबमा गीत अपलोड गरेको दश दिनभित्रै सर्जक सपूत पनि सोही गीतबाट पिरोलिए । अन्ततः उनले विवादित भनिएका दृश्यहरु हटाए र नयाँ भिडियोसहितको गीत अपलोड गरे ।

नयाँ म्युजिक भिडियोमा पूर्वमाओवादी लडाकु यौनकर्मी बनेको दृश्य अबको म्युजिक भिडियोमा पाइन्न । चर्चाको शिखरमा रहेको 'पिर' सम्पादन गरेर कत्तिको न्याय गरे त्यो सर्जकले जान्ने कुरा भयो तर उनले यो बीचमा भोगेको राजनीतिक दबाबको अनुमान भने काबू बाहिरको हुनु पर्छ । नत्र यूट्युबको एक नम्बर ट्रेन्डिङमा रहेको गीत र त्यसको म्युजिक भिडियो सम्पादन गर्नु चानचुने विषय पक्कै थिएन । 

सपूतले फेसबुकमा स्टाटस देख्दै भनेका छन्,‘पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह-समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको  छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृिष्टकोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैइरहोस् ।  जे होस, 'पिर'मा प्रतिकात्मकरुपमा राखिएको एउटा दृश्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन । आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन ।’ 

'पिर'ले नेपाली गीतसंगीतमा फेरि एकपटक विवाद र पीडाको लहरो तानिदिएको छ । शब्द र संगीत चोरेको, ट्युन मिलेको, बिदेशी गीतको नक्कल गरेकोलगायत आरोप र त्यसमाथिका टीकाटिप्पणी सामान्य लाग्छन् आजभोलि नेपाली गीतसंगितमा । जब गीतसंगीतमा राजनीतिक छाया पर्छ तब लाग्छ यहाँको सांगीतिक हावामा पनि राजनीतिक दुर्गन्ध आउँछ । देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, जनताको सार्वभौमिकता र स्वतन्त्रतालगायतमा आघात पुग्ने गरि बनाइएका सृजना अक्षम्य छन् ।

पछिल्लो समय भने केही गीतसंगीतलाई राजनीतिक र दलका नेतासँग जोडेर विवादमा तान्ने गरिएको छ । चाहे त्यो ए नेता ज्यू बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै सत्ता ढाल्नु भो…. होस् वा लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै छ छुट….. किन नहोस्, यी गीतहरु विवादमा तानिनुको एकमात्र कारण नेताहरुको संकुचित सोच नै हो । यो लेखमा हामीले नेपाली गीतसंगीतको इतिहासमा विभिन्न कारणले विवादमा तानिएका २८ गीतबारे जानकारी दिने प्रयास गरेका छौं ।

‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट….’ (पशुपति शर्मा) 

नेपालको राजनीतिक परिवेशलाई व्यंग्य गर्दै निकालिएको यो गीतले राजनीतिकवृत्तमा हलचल ल्यायो । जनमतको अपमान गर्दै सेवा र सत्तामुखी नेताको चरित्र देखाइएको यो गीत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले यूट्युबबाटै हटाउन लगायो । पछि सर्जक शर्माले माफी माग्दै परिमार्जनसहित नयाँ गीत बजारमा ल्याए । 

‘माछी मार्न जाउन दाजै कालापानीमा….’ (विधान श्रेष्ठ, रिता उपाध्याय र जे पापी) 

भारतले आफ्नो भएको दाबी गर्दै आएको कालापानी क्षेत्रलाई लिएर तयार पारिएको यो गीत छिमेकी मुलुक भारतको अपमान गरेको भन्दै आलोचित बन्यो । सीमा क्षेत्रमा रहेको कालापानीबारे लेखिएको यो गीतले नेपाली जनतालाई उक्साएको भन्दै प्रसारणमा रोक लगाउनेसम्मको माग भएको थियो । 

‘कालापानी हाम्रो सीमाना मिचेको हो की बेचेको हो…’ ( एक्स ब्याण्ड) 
कालापानी क्षेत्रबारे नै तयार एक्स ब्याण्डको यो गीतले राज्य संयन्त्रको खिल्ली उडाएको र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्ने भन्दै सरोकारवालाले आपत्ति जनाए । कालापानीको समस्या समाधानका लागि सरकारी पहल कमजोर रहेको आशयसहितको यो गीतले उठाएको प्रश्नले नेपालीलाई उक्साएको बुझाई उनीहरुको थियो । 

‘गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला…’ (नारायणगोपाल)
चालिसको दशकमा निकालिएको यो गीतमा प्रयोग भएको एक्लै तिमी नआउ म मात्तिएको बेला… भन्ने शब्द तत्कालिन समयमा अपाच्य रहेको भन्दै आलोचित बन्यो । यद्यपि नेपाली गीतसंगीतमा कालजयी गीतको उपमा पाएको यो गीत अझै पनि उत्तिकै चर्चित छ । 

चौतारीमा राजा भेटियो रानी भेटियो…. (क्षेत्रप्रताप अधिकारी)
पञ्चायतकालमा निकालिएको यो गीतले राजारानीको अपमान गरेको भन्दै प्रसारणमा नै प्रतिबन्ध लगाइयो । गीतकार क्षेत्रप्रताप अधिकारीले राजा र रानीलाई प्रेमीप्रमिकाको अर्थमा प्रयोग गरेको प्रष्टिकरण दिएपनि तत्कालिन सरकारले गीत बनाउन अनुमति दिएन । 

तीज ब्रत नबसौं…… (सोफिया थापा)  
गायिका सोफिया थापाको गीत ‘तीज व्रत नबसौं…’ गीतले हिन्दु महिलाहरुको तीज पर्वको अपमान गरेको र संस्कृतिमाथि नै विवाद ल्याउन खोजेको भन्दै संस्कृतिविद्ले गम्भीर आपत्ति जनाए । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउँदै हिन्दूवादी संस्थाहरूले उनको गीतको विरोध गरे । 

‘पोइला जान पाम….’ (कोमल वली)
राष्ट्रिय सभाकी पूर्वसदस्यसमेत रहेकी गायिका कोमल वलीको स्वर रहेको यो गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान गरेको भन्दै आलोचना खेप्नु पर्यो । सर्जकले प्रयोग गरेका शब्दले धर्मसंस्कृतिको अपमान गरेको तथा तीजको व्रतलाई अपब्याख्या गरेको आरोप यो गीतलाई लाग्यो ।  

बीच्च बीच्चमा २ र ३…. (दुर्गेश थापा) 
महिलाहरुको महान पर्व तीजलाई लक्षित गरेर निकालिएको यो गीतले चर्चा बढी नै पायो साथमा विवादमा पनि मुछियो । म्युजिक भिडियोमा प्रस्तुत भएका दृश्यमा पुरुष पात्रले सारी र ब्लाउज लगाएको भन्दै गीतसंगीत आवद्ध कलाकार मात्र हैन महिलाअधिकारकर्मीले समेत चर्को आलोचना गरे । 

‘ख्यास्स पुतली…… ’ (दुर्गेश थापा) 
दुर्गेश थापाकै अर्को गीत ख्यास्स पुतली…ले महिलाको अपमान गरेको भन्दै आलोचना खेप्यो । थापाले प्रयोग गरेको ख्यास्स पुतली शब्दले महिलामाथि ब्यङ्ग्य र अपमान गरेको भन्दै यूट्युबबाटै हटाउनु पर्नेसम्मको आवाज महिला अधिकारकर्मीले उठाएका थिए । 

‘ह्याप्पी तिहार, चिसो बियर…. ’ (दुर्गेश थापा)

गायक दुर्गेश थापाकै अर्को गीत ‘ह्याप्पी तिहार, चिसो बियर…’ नेपालको मौलिक परम्परामा मादक पदार्थको प्रयोगलाई प्रोत्साहन गरेको भन्दै विवादमा पर्यो । सोही गीतलाई लिएर दुर्गेश केहीदिन प्रहरी हिरासतमा समेत बसेका थिए । 

‘हामी यस्तै त हो नी ब्रो….’ (भिटेन अर्थात् समीर घिसिङ) 

अर्को विवादमा तानिएको गीत हो भिटेनको ‘हामी यस्तै त हो नी ब्रो….।’  नेपाली समाजले नपचाउने अश्लील शब्द प्रयोग गर्दै बनाइएको यो गीतले बालबालिका र युवा पुस्तामा नकारात्मक प्रभाव पार्ने भन्दै प्रतिवन्ध लगाउन माग भयो । म्युजिक भिडियोमा प्रहरीको अपमान भएको र प्रहरीको भ्यानसमेत विष्फोट गराएको दृश्यले भिटेनलाई प्रहरी कठघरामा उभ्यायो । भिटेनले माफी माग्दै यूट्युबबाट गीत नै हटाउनु पर्याे । 

‘गिलास ठोक्काउनी….’ ( प्रीति आले र ज्योति मगर)

प्रीति आले र ज्योति मगरको ‘गिलास ठोक्काउनी…’ गीतको म्युजिक भिडियोमा देखाइएका दृश्यले सामाजिक वातावारण धुमिल बनाउन खोजेको भन्दै आलोचना भयो । म्युजिक भिडियोमा केटीहरुलाई समेत मादकपदार्थ सेवन गराइएको दृश्यमा आपत्ति जनाउनेहरुको संख्या उल्लेख्य थियो । 

‘साइली र माइली पोइला गएछन्….’ (उदित नारायण झा र मधु क्षेत्री) 

पोइला जाने चलनको विपक्षमा रहेको समाजले यो गीतको शब्द स्वीकार्ने कुरै थिएन । सामाजिक वातावरण नै खलबल्याउने गरि गीत निकालेको भन्दै महिलाअधिकारकर्मी र केही सर्जकले समेत यो गीतमा प्रतिबन्ध नै लगाउनु पर्ने माग गरेका थिए । 

‘तिमीले पनि खेलाउने, उसले पनि नचाउने….’ (डेजी बराइली) 

पुरुषप्रधान समाजमा महिलालाई खेलौनाको रुपमा मात्र प्रस्तुत गरिन्छ भन्ने आशयको यो गीतमा स्वयं महिलाहरुले नै आपत्ति जनाए । खेलाउने, नचाउने जस्ता शब्दले महिलाको अपमान भएको महिला अधिकारकर्मीहरुको भनाइ थियो । 

‘चन्द्र शम्शेरकोे विजुली बत्ती मैया, बीर शम्शेरको धारो…’ (कुमार बस्नेत)
 
चर्चित लोकगायक कुमार बस्नेतको यो सृजना तत्कालिन राणा प्रधानमन्त्रीको नाम नै तोकेर अपमान गरेको भन्दै विवादित बन्यो । गीतमा उच्छृंखल शब्दको प्रयोग गरिएको, राणा र राजपरिवारको अपमान गरिएको भन्दै गीत प्रसारणमा नै प्रतिबन्ध लगाइएको थियो । 

‘छोरीभन्दा आमा तरुनी….’ (कुमार बस्नेत) 

लोकगायक कुमार बस्नेतको यो गीतले महिलाको गहनाको रुपमा रहेको श्रृंगारलाई अपब्याख्या गरेको, सामाजिक वातावरण बिगार्न प्रेरित गरेको भन्दै आलोचना खेप्यो । 

‘हिमाल जलेर ज्वाला भएछ……’ (उदित नारायण झा) 

बासुदेव चलचित्रमा रहेको यो गीतले नेपालको गौरव हिमाल जलेर ज्वाला भएको गलत सन्देश दिएको भन्दै तत्कालिन सरकारले प्रतिबन्ध नै लगायो । 

‘गाउँगाउँबाट उठ बस्ती बस्ती बाट उठ….’ (जेबी टुहुरे)

नेपाली चलचित्र बलिदानका लागि तयार पारिएको यो गीत युद्धका लागि प्रेरित गरेको भन्दै विवादको घेरामा तानियो । चलचित्रमा समेत सोही आशयले दृश्यांकन गरिएपछि भने प्रतिबन्धको मागसम्म भएको थियो ।
 
‘सुगौलीसन्धी……’ (अम्बर गुरुङ) 

स्वतन्त्र नेपालको पहिचानका रुपमा रहेको सुगौली सन्धीलाई लिएर गीत बनाएको भन्दै वरिष्ठ संगीतकर्मी अम्बर गुरुङको आलोचना भयो । यो गीतले तत्कालिन शासकको अपमान गरेको आरोप थियो । 

‘चिलायो कनाइ देउन….’ (श्रीदेवी देवकोटा) 

श्रीदेवी देवकोटाको आजाव रहेको यो गीतमा प्रयोग भएका शब्द अश्लिल भएको र दोहोरो अर्थ लाग्ने प्रकारको भएको भन्दै विवादमा तानियो ।
 
‘देशद्रोही….’ (मंगोलियन हब)

देशद्रोही…शीर्षकको गीत म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको दृश्यका कारण विवादमा पर्यो । बाहुनक्षेत्री समुदायलाई गालीगलौज गर्दै निकालिएको यो गीतले सामाजिक सहिष्णुतामा खलल पुर्याउन खोजेको भन्दै प्रतिबन्ध लगाइयो । समूहका सबै सदस्यलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो । 

‘लाजले छोपेको….’ (यज्ञ विक र शान्तिश्री परियार) 

‘लाजले छोपेको….’ बोलको गीतमा प्रयोग भएका शब्दले दोहोरो अर्थ बोकेको भन्दै विवादमा तानियो । गीतमा प्रयोग भएको ‘हेर्ने हो र देखाइदिम् ?’ भन्ने शब्दमा संगीतकर्मीहरुकै आपत्ति थियो । 

‘आमा दिदी बैनी हो कति बस्छौं दासी भई…. ’ (जेवी टुहुरे) 

पञ्चायती शासनकालमा निकालिएको यो गीतले जनवादी गीतको उपमा पायो । चुलोचौकामा सीमित महिलाहरुलाई जागरुक बनाउँदै खुला आकाशमा आउन गरिएको आह्वानले सामाजिक वातावरणमा खलल पुग्ने बुझाई तत्कालिन शासकको थियो । पञ्चायतकालमा कम्युनिष्टको गीत भनेर चिनिने यो गीत प्रजातन्त्र आएपछि मात्रै प्रसारणका लागि फुकुवा गरिएको थियो । 

‘रक्त क्रान्तिको ज्वालामुखीमा….’ (रामेश) 

‘रक्त क्रान्तिको ज्वालामुखीमा….’ बोलको जनवादी गीतलाई पनि पञ्चायती सरकारले प्रसारणमा रोक लगाएको थियो । जनवादी गीत गाउन र बजाउन नपाइने सो समयमा रामेशको यो गीतले क्रान्तिका लागि उक्साएको बुझाई राज्यसत्ताको थियो । 

‘यतियति पानी….’ (पुष्प पोख्रेल)

पुष्प पोख्रेलको स्वर रहेको यो गीत प्रसारणमा नेपाल टेलिभिजनले प्रतिबन्ध लगायो । गीतमा प्रयोग भएका शब्द अश्लिल रहेको बुझाइ टेलिभिजन प्रशासनको थियो । 

‘उकालीमा अघि अघि….’ (उदितनारायण र दीपानारायण झा)

नेपाली चलचित्र सम्झनाका लागि बनाइएको यो गीतका शब्द गीतकार रञ्जित गजमेरले चोरेको आरोप लाग्यो । शम्भु प्रधान निर्मित चलचित्र सम्झनाको यो गीत यूट्युबबाटै हटाइएको थियो । 

‘एक मुठी चामल पाउँ लौ हजुर…’ (नारायण गोपाल)

पञ्चायती शासनकालमा निकालिएको यो गीतमा सर्वहारा शब्द प्रयोग भएको भन्दै तत्कालिन सरकारले प्रशारणमा नै प्रतिबन्ध लगायो । 

 

Logo