१२ असोज २०७९ बुधबार
1
1
1
1

नियन्त्रण बाहिर डेंगु:सिटामोलको अभाव

1
1
1
1

पछिल्लो समय देशभर डेंगु रोगको संक्रमण बढ्दै गएको छ । 

पूर्वी नेपालबाट सुरु भएको यसको संक्रमण यतिबेला देशैभरी फैलिएको छ । हालसम्म देशभर डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । डेंगु संक्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । आजको अंकमा हामी यसै विषयमा चर्चा गर्नेछौँ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ ।

अझै दुई महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ। जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४,लुम्बिनीमा १४२१,कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमित भेटिएका छन् । मन्त्रालयले ललितपुर र भक्तपुरमा डेंगुको संक्रमण बढि देखिएको जनाएको  छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ ।

उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो । पछिल्लो अढाई महिनामा भने संक्रमणको केस ह्वात्तै बढेको छ । काठमाडौंमा मात्रै २ हजार ५ सयभन्दा केस फेला परिसकेको छ ।  डेंगु बढेसँगै अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । 

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी देखिएका थिए । काठमाडौं उपत्यकासहित  सबै जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका  लागि प्रदेश र स्थानीय तहसँग समन्वय र रोकथाम गर्न विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको बताएको छ । डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान गर्न र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

डेंगु ज्वरो एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । यो एक प्रकारको ज्वरो हो । चिकित्सकका अनुसार एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ ।  

चिकित्सकहरुका अनुसार एक्कासी रातको समय उच्च जरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु, वाक्वाकी लाग्नुलगायत यसका लक्षण हुन् । यसका अन्य लक्षणहरुमा ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि हुन् । लामखुट्टेबाट सर्ने भएकाले डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रणमा ध्यान दिनु नै हो । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । यसबाट बच्न रातको समयमा झुल ओढेर सुत्ने, घर आँगन तथा वरपर सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ ।

डेंगु संक्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा नष्ट नगरिए संक्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् । अहिलेकै अवस्थामा संक्रमण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा संक्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् । अर्कातिर, डेंगु संक्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको माग उच्च छ ।

अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् । डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको औषधि वितरक बताउँछन् । बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् । उनीहरुका अनुसार जतिबेला महामारी बढ्छ, त्यसबेला व्यवसायीले सिटामोलको अभाव गराउँछन् । 

सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ । यसैगरी सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ । केही वर्षअघि सरकारले सिटामोलको प्रति ट्याब्लेट एक रुपैयाँ भन्दा बढी लिन नपाउने भनेर तोकेको थियो । तर औषधि उत्पादक संघले एक रुपैयाँ एमआरपी भएको सिटामोल बनाउँदा घाटा हुने भन्दै उत्पादन नगरेकाले बजारमा अभाव भएको हुनसक्ने वितरकको दाबी छ । सिटामोलको मूल्य समायोजन हुनुपर्ने भन्दै पटक–पटक औषधि उत्पादक र व्यवसायीले माग गर्दै आएका छन् ।
 

केन्द्रविन्दु टिभी

प्रकाशित: ३१ भदौ २०७९ ०८:५६ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी