नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका


भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ।

केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो। भारतीय संविधानको अनुच्छेद ३२४ को प्रावधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन गर्न सक्छ। भारतीय संविधानको अनुच्छेद ८५ (१) र अनुच्छेद १७४ (१) मा टेकेर सदन र विधानसभाको दुई सत्रबीच चुनाव आयोगले ६ महिनासम्मका लागि घोषित कार्यक्रम रोक्ने अधिकार राख्छ।

एउटा याचिकामाथि सुनुवाइ गर्दै न्यायाधीश शेखरकुमार यादवको खन्डपीठले कोभिड र ओमिक्राेनका कारण संक्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने भन्दै उक्त निर्देशन दिएको थियो। त्यसलगत्तै भारतका मुख्य निर्वाचन आयुक्त सुशील चन्द्राले उत्तर प्रदेशको वस्तुस्थितिबारेमा भ्रमण गरेका थिए। निर्वाचन आयोगले उत्तर प्रदेशका राजनीतिक दलहरुको मनशाय चुनाव सार्न नहुने पाएको बताए।

उत्तर प्रदेशसँग नेपालको लामो सिमाना छ। आवतजावत खुल्ला छ। यहाँ दैनिक र घरायसी कामका लागि पनि दिनहुँ मानिसहरु सीमा पार आउजाउ गरिरहन्छन्। यो अवस्थामा कोभिडको अर्को लहर रोक्न थप चुनौतीपूर्ण छ। खुल्ला सीमाका कारण दिनहुँ भारतमा रोजगारीमा गएका र अन्य कामले भारत आउजाउ गर्नेहरु लर्को कम हुने छाँटकाँट देखिँदैन। बरु उल्टै भारतमा संक्रमण बढिरहँदा रोजगारीमा समस्या आउन सक्ने सम्भावनाको डरले स्वदेश फर्कनेहरूको चाप बढ्दैछ। यस हिसाबले सीमामा कोभिड ओमिक्रण संक्रमण बढ्न सक्ने सम्भावना तीव्र गतिमा रहेको छ।

त्यसै पनि नेपाल-भारत खुल्ला सिमानाका कारण राजनीति अक्सर संक्रमित झैं हुन्छ। भारतमा संक्रमण बढ्दै जाँदा रोजगारी कटौती हुने उत्तिकै सम्भावना रहन्छ। दैनिक ज्याला मजदुरीमा भारतका विभिन्न सहरमा काम गर्ने नेपाली अघिल्लो वर्षको महामारीपछि उत्पन्न परिस्थितिबाट गुज्रिसकेका छन्। त्यसैले पनि छिटो स्वदेश फर्कनेको संख्या दिनानुदिन बढिरहेको छ। त्यसमाथि महामारी बढाउने गेट वेका रुपमा सिमाना एक प्रमुख कारकका रूपमा देखिन्छन्।

आगामी फेब्रुअरी र मार्चमा उत्तर प्रदेशमा चुनावको सम्भावना छ। यसबीच उत्तर प्रदेशको बाटो भएर नेपाल आउनेहरु प्रक्रियामा स्वास्थ्य मापदण्ड पालना गराउन सीमावर्ती जिल्लाहरु सजग हुनै पर्छ। त्यस्तै मध्येको एउटा जिल्ला हो बाँके। नेपालगन्जसँग सीमा जोडिएको रुपैडिया नाकाका अलावा अन्य प्रवेश मार्गमा कोरोना परीक्षण, खोप र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड लागू हुन आवश्यक छ। साथै अन्य तयारी क्वारेन्टिन, जाँचको अनुपातलगायतका विषयमा समयमै ध्यान दिन जरुरी छ।

पछिल्लो तथ्यांकअनुसार बाँकेको जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरुमध्ये ६ सय ७५ जनाको कोभिड एन्टिजिन परीक्षण भइसकेको छ। १९ पुसमा नौ, २० गते चार, २१ गते पाँच, २२ गते २३, २३ गते २६, २४ गते ४६ र २५ गते ३९ जनामा संक्रमण देखिएको हो । महामारीकै बीच नेपालगन्ज जमुनाहा नाका भएर आउने अहिलेसम्म पाँच सय ५५ जनामा कोभिड संक्रमण देखिएको छ। पछिल्लो समय संक्रमण देखिएका सबैलाई बालमन्दिरस्थित आइसोलेसन केन्द्रमा राखी उपचार गरिएको छ।

भारतका विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगन्ज नाकामा जाँच गर्दा कोरोना संक्रमण बढेको देखिएको हो। भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ। त्यसको असर नेपालीहरूमा परेको छ। कोरोना प्रकोप बढेपछि नेपालीहरु घर फर्किरहेका छन्। नेपालगन्ज नाकाबाट दैनिक ठूलो संख्यामा फर्किरहने नेपालीमा कोरोना देखा परिरहेको छ।

कोरोना देखिएकाहरु प्रायः पहाडी जिल्लाका छन्। यसले समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावना रहन्छ। स्वास्थ्य परीक्षण भई संक्रमित भएकालाई नेपालगन्ज आइसोलेसनमा राखिएको छ। तर कतिपय यात्रुहरु मापदण्ड मिचेर पनि नाका पार गरिरहेका छन्।

Logo