सोती घटनाका २१ अभियुक्तको सकियो बयान

सोती घटनाका २१ अभियुक्तको सकियो बयान


काठमाडौं ।

चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयान अन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।

यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ । पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए। सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।

प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान भोलि (बिहीबार) सम्ममा सकिने देखिएको छ,’ उनले भने, ‘बयान सकिए लगत्तै थुनछेक बहस शुरु हुनेछ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ ।’

उनका अनुसार बिहीबार बयान सकिन समय लागे शुक्रबारदेखि थुनछेक बहस शुरु हुनेछ । गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । चौँतीस जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ ।

यसैबीच सोमबार बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बालसुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको छ ।रासस

Logo