कोरोनाको संक्रमणबाट जोगिएका ‘भाग्यमानी’ मुलुक

कोरोनाको संक्रमणबाट जोगिएका ‘भाग्यमानी’ मुलुक


काठमाडौँ ।
चीनको वुहानलाई उद्गम मानिएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ । विश्वका १ सय ९५ मुलुकमध्ये यो समाचार तयार पार्दासम्म एक तिहाई भन्दा बढी मुलुकमा यो भाइरसको संक्रमण देखिएको छ ।

केही दिन अघिसम्म चीन, दक्षिण कोरिया, इरान र इटालीमा बढी देखिँदा कुन कुन मुलुकमा यसको संक्रमण भएको छ भन्ने कुराको चासो हुन्थ्यो । तर यसको विश्वव्यापी विस्तार र संकटका कारण कुन मुलुक यसको संक्रमणबाट अछुत छन् भन्ने कुराको गणना हुन थालेको छ ।

विश्वका विभिन्न विषय सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्ने संस्था वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वका १ सय ५५ देश, विशेष प्रशासनिक क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विश्वका सातमध्ये ६ महादेशमा यो भाइरसको संक्रमण देखिएको छ ।

यस हिसावले १ सय ९५ देशमध्ये १ महादेश र ५६ मुलुकलाई अहिलेसम्म कोरोना भाइरसको संक्रमणले छोएको छैन । यद्यपी, ती मुलुकमा कोरोना भाइरस नै नपुगेको हो वा चेकजाँच नभएर तथ्याङ्क नआएको हो भन्नेबारे चाहिँ स्पष्टता छैन ।

एसिया
आइतबार अपरान्हसम्म एसियाका ९ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । यद्यपी, तथ्याङ्क सार्वजनिक नभएका उत्तर कोरिया र यमनको तथ्याङ्क बाहिर नआएको हुनसक्ने अनुमान गरिएको छ । ५१ देश रहेको एसिया महादेशका ४२ देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

एसियाली मुलुकमध्ये चीनमा सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण भेटिएको थियो । चीन अहिलेसम्म सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भेटिएको मुलुक भए पनि त्यहाँ यसको संक्रमण नियन्त्रण नजिक छ ।

कोरोना भाइरसको संक्रमण नदेखिएका एसियाली मुलुक हुन्, तुर्कमिनस्तान, यमन, सिरिया, उत्तर कोरिया, लाओस, म्यानमार, किर्गिस्थान, टिमोर र ताजिकिस्तान ।

नेपालमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण भएको थियो । तर, ती व्यक्ति सफल उपचार पश्चात् घर फर्केका छन् ।

अफ्रिका
अफ्रिका महादेशमा ५८ मुलुक छन् । त्यसमध्ये २७ वटा मुलुकमा अहिलेसम्म कोरोना भाइरस संक्रमण देखिएको छैन । बाँकी ३१ मुलुकहरुमा भने यो भाइरसको संक्रमण भेटिइसकेको छ । ती मुलुक निम्न बमोजिम छन् , बेनिन, बेत्सवाना, बुरुंडी, काबो भर्डे, मध्य–अफ्रिकी गणराज्य, चाड, कोमोरोज, जिबुती, इरिट्रिया, गाम्बिया, गुयना–बिसाउ, लेसोथो, लाइबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, मोरिसस, मोजाम्बिक, साओ टोमे एन्ड प्रिन्सिपे, सियलियोन, सोमालिया, नाइजर, तान्जिनिया, जाम्बिया, युगान्डा, जिम्बावे ।

युरोप
यो महादेशमा ४८ मुलुक छन् । यो महादेश अहिले कोरोना भाइरस संक्रमणको केन्द्र नै बनेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक भने इटाली हो ।

तर, यही युरोपमा एउटा देश चाहिँ अहिलेसम्म कोरोना भाइरसबाट अछुतो बनेको छ । त्यो हो, मोन्टेनेग्रो । समाचार संस्था रोयटर्सका अनुसार, दर्जनौं मानिसमा चेकजाँच गरिए पनि मोन्टेनेग्रोमा अहिलेसम्म एकजनामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छैन ।

अष्ट्रेलिया /ओशिनिया
पूर्वी र पश्चिमी गोलार्धहरुमा भाग एवं अष्ट्रेलिया महादेश समेट्ने ओशिनियाका केही मुलुकपनि अहिलेसम्म कोरोना भाइरसबाट मुक्त छन् । धेरैजसो टापुहरुबाट बनेका यो क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन । अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत २३ देश रहेको ओशिनियाका १२ देशहरु कोरोना भाइरसको संक्रमणमुक्त रहेका छन् ।

कोरोना भाइरसबाट मुक्त यो महादेशका मुलुकहरु हुन् , फिजी, किरिबाटी, मार्शल टापु, माइक्रोनेसिया, नउरु, पलाउ, पपुवा न्युगिनी, समोआ, सोलोमन टापु, टोंगा, टुभालु, भानुआटु ।

उत्तर अमेरिका
४१ मुलुक रहेको उत्तर अमेरिकाको ८० प्रतिशत भूभाग भने क्यानाडा र संयुक्त राज्य अमेरिकामा पर्छ । अहिलेसम्म उत्तर अमेरिकाका १६ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ मुलुक संक्रमणमुक्त छन् । ती मुलुक हुन्, निकारागुआ, हाइटी, ग्रेनाडा, डोमिनिका, एल साल्भाडोर, बार्बाडोस, बेलिज ।

दक्षिण अमेरिका
१४ देश रहेको यो महादेशको फकल्याण्ड टापुमा मात्रै संक्रमण भेटिएको छैन । मानववस्ती नरहेकाले अन्टार्टिका महादेशमा पनि कोरोना भाइरसको संक्रमण देखिने कुरै भएन ।

कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १ लाख ५७ हजार मानिसहरु संक्रमित भइसकेका छन् । ती मध्ये ५ हजार ८ सयको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार निको भएर अस्पतालबाट फर्किसकेका छन् । संक्रमणको अवस्थामा रहेका ७५ हजारमध्ये ६९ हजारको अवस्था सामान्य रहेको छ भने साढे पाँच हजार मानिसको अवस्था गम्भीर छ ।

नयाँ पत्रिकाबाट

Logo