गोलसिमल

गोलसिमल


हिजोआज
उसको गलाले
आवाज पस्कन बिर्सेको छ
सल्लाको टुप्पोबाट
वेग हानेर
धूपीको हाँगा हल्लाउँदै
उसले गोलसिमल गाउन छोडेको छ ।

लाग्छ कुनै छद्मभेषी व्याधाले
उसको पखेटा काटि पो दियो कि
निष्ठुर बाजले ठुँगेर
घाइते पो बनाइ दियो कि
गोलसिमल त्यो प्रसिद्ध चरो
खै किन हो कराउदैन रे अचेल ।

हजुरबा र हजुरआमाले सुनाउने
दन्त्य कथाहरूमा पनि सुनिदैन रे
सायद उसका कथाका पानाहरू
धमिराले चपाइसके होलान् ।

यतिबेला
गोलसिमलको चर्चा भेटिदैनन्
सारङ्गीमा उसका भाकाहरू पनि रेटिदैनन्
गन्धर्वहरू भन्छन्
गोलसिमलले गाउन बिर्सेको छ ।

म भन्छु
दन्त्य कथामा वर्णित गोलसिमल
मिथक होला
अपसगुन ठानिएको
कोइरालो चरोभन्दा भिन्न होला
रातको सन्नाटालाई चिरेर
अलच्छिनलाई लच्छिनमा बदल्न
गोलसिमल तल्लीन होला
मेरा भावनाका तानाहरू गाउँदै होला
गामबेसीका गानाहरू भन्दै होला ।

ऊ प्रियसिको विछोडमा
छटपटिएर पनि
सबैको रखवारी गर्दै होला
खबर ओसार्दै होला
गोलसिमल अद्वितीय चरो ।
ऊ गाउँदै होला
आजभोलि तिमीले नसुनेको हुनसक्छ
ऊ एउटै स्वरले गाउँदै होला देशको गीत
गाउदै होला– गोलसिमल ! गोलसिमल !

Logo