पाथीभराको जंगलमा लागेकाे डढेलो नियन्त्रण बाहिर, निभाउन सिम्रिकको हेलिकप्टर प्रयोग

पाथीभराको जंगलमा लागेकाे डढेलो नियन्त्रण बाहिर, निभाउन सिम्रिकको हेलिकप्टर प्रयोग


ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको छ। बिहिबारदेखि सुरु भएको डढेलो सोमबार मन्दिरमै पुगेपछि हेलिकप्टर झिकाइएको थियो।

हेलिकप्टरले जोर पोखरीबाट पानी ल्याएर आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रुपमा हेलिकप्टरको प्रयोग गरेका हौं,’ काफ्लेले भने, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन।’ विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै पानी हानेको थियो।

शनिबार बेलुकादेखि कम भएको आगो सोमबार बिहानबाट भने एक्कासी फैलिएको थियो। हावासमेत जोडले चल्न थालेपछि बढेको धुवाँको मुस्लोले पाथीभरा क्षेत्रको आकाश नै ढाकेको थियो। दिउसो घाम चर्किएपछि भने आगोको लप्काले पाथीभराको डाँडोलाई वरिपरिबाट घेरेपछि मन्दिर जोखिममा परेको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्दिरका कर्मचारी र स्थानीयले समेत निभाउने अवस्था नभएपछि हेलिकप्टर बोलाइएको थियो। ‘आगो मन्दिरसम्म नपुगोस् भनेर हामीले अगाडि नै अग्नीरेखा बनाएका थियौं,’ पाथीभराका कर्मचारी इन्द्र पौडेलले भने,‘दिउसोको घाममा हावा चलेपछि रुखको टुप्पो टुप्पोबाट आगो सल्कदै मन्दिर नजिक पुग्यो, हेलिकप्टर नआएको भए निभाउन सम्भवै हुने थिएन।’

दुई सय ५० लिटरको बकेटमा हेलिकप्टरले पाँच पटक पानी हालेको थियो। अब मन्दिर परिसरमा खतरा नरहेको पौडेलको भनाई छ।अन्नपूर्णबाट

Logo