‘रोजगारी वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायी गतिशील बन्नु पर्छ : गृहमन्त्री

‘रोजगारी वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायी गतिशील बन्नु पर्छ : गृहमन्त्री


गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन्। आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ। र सायद सरकार बचाउन हो कि भन्ने पनि होला। वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाँटिकन भन्दा।’  

पाँच दलीय गठबन्धन वैशाख ३० मा हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएकाे सहमतलाई गृहमन्त्री खाणले सरकार बचाउनका लागि भएकाे बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ।

‘गठबन्धन बचोस्। सरकार बचोस् भन्ने चाहना छ हाम्रो। त्यो पारदर्शी कुरा हो। तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन। मुलुकको दीर्घशान्ति हो’, गृहमन्त्री खाणले प्रस्ट्याउँदै भने। 

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए। ‘गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो’, उनले स्मरण गर्दै भने, ‘त्यसकारण गठबन्धन वैचारिक आधारशीलामा मात्र हुन्छ भन्ने छैन्। अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ। यो संसारभर नै हुन्छ।’

उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको रहेको बताए। उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशील भएको गृहमन्त्री खाणले दाबी गरे। ‘रोजगारीको वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउनलाई उद्योगपति र व्यवसायी गतिशील बन्नु पर्दछ’, उनले भने, ‘राज्यलाई अधिकतम कर तिर्न सक्ने क्षमता बनाउनु पर्दछ।’

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए। उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर अफवाह फैलाइएको छ। जनप्रतिनिधिविहिन हुन नदिनलाई सरकार निर्वाचनको तयारीमा लागेको छ।’

Logo