मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङमा २६६ जना मतदाता थपिए

केन्द्रबिन्दु
9
Shares

मुस्ताङ । सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधार मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेको जनाइएको छ । गत १० मङ्सिरदेखि सुरु भएको मतदाता नामावली दर्ता म्याद कात्तिक मसान्तसम्म तोकिए पनि मतदान प्रक्रियामा कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कात्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा लक्ष्मी अधिकारीका अनुसार यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएकामध्ये अधिकांश युवा पुस्ताका मतदाता रहेको जानकारी दिए । मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आज साँझसम्म म्याद तोकेको थियो ।

सरकारले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएको भए पनि अधिकांश मतदाता कार्यालयमा उपस्थित भई मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी नायब सुब्बा अधिकारीले बताए । मतदाता नामावली दर्ता सुरु भएदेखि थपिएको ५ दिनको म्याद सकिदा २६६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

जसमध्ये नागरिकताको प्रमाणपत्रको आधारमा अनलाइन मतदाता नामावली दर्ता, फोटो र बायोमेट्रिक विवरण पेस गरी नाम दर्ता गर्ने ७८ जना पुरुष र ६४ जना महिला मतदाता रहेका छन् । राष्ट्रिय परिचयपत्रबाट अनलाइन मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेका छन् । राष्ट्रिय परिचयपत्रबाट पुरुष र महिलाको सङ्ख्या निकाल्न कार्यालयबाट नसकिने जनाइएको छ ।

जिल्ला बाहिरका ४१ जना मतदाताले कार्यालयबाट मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी लक्ष्मी अधिकारीले उल्लेख गरिन् । उनका अनुसार जिल्लाबाहिर २८ जना पुरुष र १३ जना महिलाले कार्यालयमा उपस्थित भएर मतदाता नामावली दर्ता गराएको उनको भनाइ छ ।

यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यहाँको कूल मतदाता १० हजार ४८५ जना रहेका थिए । योसँगै निर्वाचन आयोगमा मतदाता नामावली अद्यावधिकपछि मुस्ताङको कूल मतदाता १० हजार ७५१ जना पुग्नेछ ।

विसं २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा घरपझोङमा दुई हजार ३१४ जना, थासाङमा दुई हजार ८१७ जना, लोघेकर दामोदरकुण्डमा एक हजार ५३३ जना, वारागुङ मुक्ति क्षेत्रमा दुई हजार २८५ जना र लोमान्थाङ गाउँपालिकामा दुई हजार आठ जना मतदाता रहेका थिए ।

Logo