काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई संवैधानिक ठहराउन अदालत समेत असमर्थ हुने दाबी गर्दै यसको परीक्षण सर्वोच्च अदालतबाटै हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि सम्बोधन गर्दै उनले यो सरकार संविधानविपरीत बनेको, अवैध र अलोकतान्त्रिक भएको आरोप लगाए। ओलीले यो मुद्दामा एमालेले नै अदालतमा नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभामा बोल्दै ओलीले भने, “यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ। संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहराउने ठाउँ नै छैन। कोर्टले यसलाई संवैधानिक ठहराउनै सक्दैन।“ उनले यो सरकार हिंसा, आगजनी र तोडफोडबाट जन्मिएको ’कृतिम’ सत्ता भएको बताउँदै जनतालाई यसबारे सचेत रहन आह्वान गरे।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले तत्कालीन ओली सरकार ढालेपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। यो सरकारलाई ओलीले ’विदेशी हितको प्रतिनिधि’ र ’संविधानविपरीतको दबाबबाट जन्मिएको’ भनेर बारम्बार आलोचना गर्दै आएका छन्। सर्वोच्च अदालतमा हालै दायर भएका १० भन्दा बढी रिटहरूले प्रतिनिधिसभा विघटन र कार्कीको नियुक्तिलाई चुनौती दिइरहेका छन्, जसमा एमाले पार्टीले सक्रिय भूमिका खेलिरहेको छ ।
ओलीले अगाडी भने “एमाले पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो। जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो। सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो। देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पु¥याउन बनेको हो। एमाले देशको स्वाभिमानको रक्षक भएको दाबी गर्दै, “यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एकछिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौं।“
ओलीले वर्तमान सरकारलाई “लोकतान्त्रिक विधि, प्रक्रिया त्यसबाट नबनेको सरकार“ भनेर चित्रण गर्दै, मिचिएको संविधानलाई फर्काउने उद्घोष गरे। उनले भने, “अराजकताको राज लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्छ। नेकपा एमाले जनतासँगै छ, जनताको अघि लागेर राष्ट्रिय, सुशासन ल्याएर देशमा शान्ति ल्याउँछ।“ यो सरकारलाई ’अवैधानिक, असंवैधानिक र हिंसाबाट बनाइएको’ भन्दै ओलीले जनतालाई यसविरुद्ध एकजुट हुन अपिल गरे।
ओलीले संसद् पुनस्र्थापना नै एकमात्र विकल्प भएको बताएका छन्। संसद पुर्नस्थापनाका लागि एमालेले अदालती लडाइँ गर्ने र जनप्रदर्शनलाई तीव्र बनाउने ओलीले बताएका छन् ।































प्रतिक्रिया