मुख्यमन्त्रीमा आश छैन, तर धमाधम प्रदेश दलको नेता चुन्दै कांग्रेस

मुख्यमन्त्रीमा आश छैन, तर धमाधम प्रदेश दलको नेता चुन्दै कांग्रेस


नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा आइपुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले हातमै आएको सत्ता गुमाउन पुगेको हो । 

अहिलेकै सत्तागठबन्धन कायम रहेमा कांग्रेस आगामी पाँच वर्षसम्म प्रतिपक्षमै सीमित हुने निश्चित छ । तर प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेसले सर्वसम्मत र निर्वाचनका माध्यमबाट प्रदेश संसदीय दलको नेता चयनलाई तीव्र पारेको छ ।

अहिलेसम्म कांग्रेसले पाँचवटा प्रदेशमा दलको नेता चयन गरिसकेको छ । जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत भए भने चारवटा प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका छन् । कांग्रेसमा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका हुन् । अब लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन हुन बाँकी छ ।

अहिलेसम्म चयन भएका सबै प्रदेश संसदीय दलका नेता सभापति शेरबहादुर देउवा निकट रहेका छन् । प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे र कर्णालीमा जीवनबहादुर शाही पाँचैजना देउवा पक्षका हुन् । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धन हुन्थ्यो भने उनीमध्ये धेरै मुख्यमन्त्री बन्ने निश्चित थियो ।

प्रदेश १ मा थापाले अमृत अर्याल र केदार कार्कीलाई पराजित गरेका हुन् । मधेसमा कृष्ण यादवले रामसरोज यादव, बागमतीमा बहादुरसिंहले इन्द्र बानियाँ, गण्डकीमा पाण्डेले भोजराज अर्याललाई पराजित गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । अन्य प्रदेशमा प्रदेश सभा बैठक आह्वान गरिसकेकाले पनि चाँडै दलको नेता चयन गरिएको हो । लुम्बिनी र सुदूरपश्चिममा अझै बैठक आह्वान गरिएको छैन ।

Logo