काभ्रेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
File Photo

काभ्रे,

काभ्रेको बनेपा र रोशीखोलामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटो चोक नजिकै कृष्णप्रसाद अस्पताल अगाडि बेलुका बोलेरोले रोकी राखेको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती–बनेपा सडकखण्ड अन्तर्गत पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा १८ च ३९५२ नंको महेन्द्र बोलेरो गाडीले रोकिराखेको बा ५० प ४४४७ नंको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार पाँचखाल नगरपालिका–७ बस्ने ४० वर्षीया सीता काफ्ले घाइते भई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपामा लगिएकामा उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच मंगलबार बिहान काभ्रेको नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा घाइते भएका सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ का वर्ष ७२ को शोभित साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ घर भएकी ६० वर्षीया गङ्गादेवी साह मुटु सम्बन्धी बिरामी भई स १ च ११९१ नंको एम्बुलेन्समा सिराहाबाट बिहान शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा ल्याइको र उपचारका क्रममा मृत्यु भएपछि शव लिएर फर्कने क्रममा नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा छ जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर रहेका साहको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा मृत्यु भएको गिरीले बताउनुभयो । गाडीका चालक धनुषा जिल्ला मिथिला नगरपालिका–७ बस्ने २६ वर्षीय देवराज श्रेष्ठलाई उपचार पश्चात् घर पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखेर घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।