भारतमा १७९ नेपाली अलपत्र , नेपाल ल्याउन पहल

भारतमा १७९ नेपाली अलपत्र , नेपाल ल्याउन पहल


काठमाडौं

रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन् ।

नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन । परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीबाट भारतमा फसेका नेपालीलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ ।

सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय एक उपसमिति गठन गरेको छ । ‘नेपालीहरू रोजगारीका सिलसिलामा बिदेसिने क्रममा हाल भारतको मणिपुरस्थित विभिन्न सेल्टरमा १७९ जना रहेको भन्ने सूचनाको आधारमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा नेपालमा ल्याउन पहल भइरहेकाले नेपालमा ल्याइसकेपछि पूर्वी नाका काँकडभिट्टादेखि काठमाडौंसम्म उद्धार गरी ल्याउनका साथै पीडित तथा प्रभावितहरूको उचित व्यवस्थापनका लागि उपसमिति गठन गरी उद्धार तथा पुनस्र्थापना कार्य प्रभावकारी रूपमा गर्ने,’ सरकारको निर्णयमा उल्लेख छ ।

उपसमितिमा गृह, श्रम, नेपाल प्रहरीका साथै विभिन्न संघ संस्थाका प्रतिनिधि राखिएको छ । सरकारले पीडित/प्रभावितहरूलाई काँकडभिट्टादेखि काठमाडौंसम्म संरक्षण गरी ल्याउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ । यस्तै सरकारले पीडितलाई ल्याउन मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल र नेपाल प्रहरीका उपरीक्षक कृष्णहरि शर्मालाई खटाउने निर्णयसमेत गरेको छ ।
राजधानीबाट

Logo