सरकारको कामबाट बुर्जुवा र पश्चगामी शक्ति अत्तालिए : अध्यक्षद्वय

सरकारको कामबाट बुर्जुवा र पश्चगामी शक्ति अत्तालिए : अध्यक्षद्वय


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नौ महिनामा सरकारले आर्थिक–सामाजिक रूपान्तरण गर्दै मुलुकलाई समृद्धिको दिशामा डोर्‍याएको दाबी गरेका छन् । शनिबार सुरु स्थायी समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनीहरूले सामाजिक–आर्थिक रूपान्तरणको अभियान सफलतापूर्वक अघि बढिरहेकै कारण बुर्जुवा, पश्चगामी र यथास्थितिवादी शक्ति अत्तालिएर द्वन्द्व र अस्थिरता मच्चाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

आधारभूत तहसम्म पार्टी र जनवर्गीय संगठनहरूको एकीकरणको काम पूर्ण हुन नसक्दा पार्टी एकीकरणबाट सिर्जित उत्साह र ऊर्जालाई जनताबीच स्थापित गर्न ढिलाइ भएको र त्यसबाट लाभ उठाउँदै विभिन्न शक्ति संविधान, पार्टी र सरकारविरुद्ध क्रियाशील भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

बाँकी रहेका सबै तहमा पार्टी कमिटी, निकाय र जनवर्गीय संगठनको एकीकरण सम्पन्न गर्दै नयाँ उत्साह र ऊर्जाका साथ जनताबीच जान आवश्यक रहेको औँल्याइएको छ । एकीकरणको काम तत्काल सक्दै माघ र फागुनमा एकताको सन्देश सम्प्रेषणका लागि विशेष अभियान सञ्चालनको प्रस्ताव पनि गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo