अब सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन गर्न नपाउने

अब सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन गर्न नपाउने


महेन्द्रनगर(धनुषा), ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्  । 

जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै  भने– “निजी क्लिनिक नचलाई दिनोस् । यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।” 

जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु) बाट हटाइ दुई साताअघि मात्र नियुक्त भएकी मेसु डा कल्पना बछारलाई लक्षित गर्दै भने-“निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।” 

बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे । 

विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

Logo