डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने

डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा अवार्ड प्रदान गरिने भएको छ ।

नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानव सेवा गरेका आधारमा बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको हो । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाइ सम्मान गर्न लागिएको हो । बहराइनले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित अवार्ड स्वर्ण पदक र १० लाख डलर रहेको  छ ।

यो अवार्ड विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । अवार्डका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई अवार्ड प्रदान गरिएको गल्फ न्युजले जनाएको छ ।

उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिए । “नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई उनको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,” उनले भने । मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताए ।

यसैबीच, डा. रुइतले ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आफूलाई उक्त अवार्ड प्रदान गर्न लागेको जानकारी दिए । उनले आफूले आँखा स्वास्थ्यमा काम गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु आफ्नो व्यक्तिगत रूपमा नभई समग्र राष्ट्रको गौरवको विषय भएको बताए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने बताइएको छ । डा. रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाइसकेका छन् ।

Logo