पोखरा विमान दुर्घटनामा निधन भएका मध्ये २२ शव आफन्तले बुझे, एक जनाको स्थिति अझै अज्ञात

पोखरा विमान दुर्घटनामा निधन भएका मध्ये २२ शव आफन्तले बुझे, एक जनाको स्थिति अझै अज्ञात

केन्द्रबिन्दु
0
Shares

पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२ विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव मङ्गलबार काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ। शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

“सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उनले भन्नुभयो । ६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।

Skip This
Skip This
Logo