इन्काउन्टरको आशंकामा कैदी गिरीले गुहारे अदालत

इन्काउन्टरको आशंकामा कैदी गिरीले गुहारे अदालत

केन्द्रबिन्दु
0
Shares

मोरङ कारागारमा जेल जीवन बिताइरहेका कैदी अभिषेक गिरीले आफूलाई ‘इन्काउन्टर’ गर्ने योजना बनाइएको भन्दै जीवन याचनाको माग गरेका छन् । कानुन अनुसार जेल सजाय पूरा गरी बाहिर निस्कन लागेको समयमा आफूलाई मार्ने योजना बनाएर भीमफेदी कारागार सरुवा गरिएको भन्दै उनी अदालत पुगेका हुन् । 

गृह मन्त्रालयको ठाडो आदेश भन्दै गिरीलाई कारागार प्रशासनले सरुवा गर्ने योजना बनाएको छ । जेल सजाय भुक्तान गरेर फागुन ३ गते उनी बाहिर निस्कँदै थिए । जेल सजाय पूरा हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा आफूलाई गलत नियतले सरुवा गर्न लागिएको भन्दै उनले उच्च अदालत, विराटनगरमा रिट निवेदन दायर गरेका हुन् । 

जेल सजाय पूरा गरी आफू अब सुध्रिएको भएपनि सजाय पूरा गर्ने बेलामा बदनियत पूर्ण तरिकाले सरुवा गर्न लागिएको भन्दै सरुवा रोक्ने आदेश उनले माग गरेका छन् । आफ्ना वकिल मार्फत दिएको निवेदन उच्च अदालतमा दर्ता भएपनि सुनुवाई भने भएको छैन ।

यसअघि गिरी काठमाडौंको डिल्ली बजार कारागारबाट मोरङ सारिएका थिए । विराटनगरका स्थानीय समेत रहेका गिरी कांग्रेस सरकारका पालामा गृहमन्त्री बालकृष्ण खाँडले उनको सरुवा गरेका थिए । कांग्रेस निकट मानिने गिरी गुण्डागर्दीमा सक्रिय रहेको र जेलभित्रैबाट गैरकानुनी गतिविधिहरु गरेको प्रहरीको आशंका छ । 

उनलाई मोरङ सरुवा गर्दा त्यहाँका कैदीबन्दीले विरोध समेत गरेका थिए । उनी काठमाडौंको कारागारमा ल्याउनु भन्दा पहिले पनि मोरङ कारागारमा नै रहेका थिए । त्यहाँ उनले अन्य कैदीबन्दीलाई कुटपिट गर्ने गरेकाले काठमाडौं पठाइएको थियो । तर खाँड गृहमन्त्री बनेपछि उनी पुनः २०७८ कात्तिकमा मोरङ सरुवा भएका थिए । यद्यपि अहिले भने माहोल फरक छ । मोरङका धेरै कैदीहरु गिरीलाई सरुवा गर्न हुँदैन भन्दै केहीदिन अघि धर्ना नै बसेका थिए । 

अहिले उनले पहिले गरेकै कार्य पुनः दोहोर्‍याएका कारण उनलाई सरुवा गर्न लागिएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए । ‘कारागारमा अभद्र व्यवहार गरेको र त्यहाँ राख्ना नसक्ने अवस्था आएपछि उनलाई सरुवा गर्न लागिएको हो,’ उनले भने । अन्य कैदीबन्दीको रक्षाका लागि पनि उनलाई सरुवा गर्नु पर्ने अवस्था आएको उनको भनाइ छ । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले भने प्रहरीले कसैलाई पनि नमार्ने बताए । प्रवक्ता राईले नेपालमा मृत्युदण्डको सजाय नभएको तथा प्रहरीले सबैको संरक्षण गर्ने भएकाले इन्काउन्टर गर्ने कुरामा सत्यता नभएको दाबी गरे । ‘नेपालमा जन्म कैदसम्म गर्ने व्यवस्था रहेको छ । कुनै पनि नागरिकलाई मार्ने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो,’ डीआईजी राईले भने । 

यता गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘यो विषय कारागार व्यवस्था विभागको हो, उतै बुझ्नु उपयुक्त हुन्छ,’ उनले भने । कारागार प्रशासनका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय पाएका गिरीको ३ फागुनमा सजाय पूरा हुँदैछ ।

Skip This
Skip This
Logo