काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प, यात्रुको विचल्ली

काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प, यात्रुको विचल्ली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाभित्र आज बिहानैदेखि सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्।

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्। विज्ञप्तिमा नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको बताउँदै यातायात मजदुर आफ्नो हक हितका लागि प्रदर्शनमा उत्रनु परेको उल्लेख छ।

उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छ। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भइरहेको छ।

यसैबिच, मंगलबार बिहान ८ बजे भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा आन्दोलनरत पक्षसँग वार्ता हुने तय भएको यातायात व्यवस्था विभागले जनाएको छ। सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए। प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।

Logo