रुकुम पश्चिमको सोती घटना : उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

रुकुम पश्चिमको सोती घटना : उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर


सर्वोच्च अदालतले रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनासम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतको आदेशलाई सदर गरिदिएको छ।

न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासले गत मंसिर ११ गते उच्च अदालत सुर्खेतले गरेको आदेशलाई सोमबार सदर गरेको हो।

आदेशको पाठ भने मंगलबार आउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले बताए। “उच्च अदालत सुर्खेतको आदेश सदर भएको छ र आदेश भोलि आउँछ”, पौडेलले केन्द्रविन्दुलाई बताए।

जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतको फैसलाविरुद्ध गत मंसिर २६ र फागुन ९ गते सर्वोच्चमा मुद्दा परेको थियो।

मुद्दा दर्ता गराउनेहरू सौरभ पुन, मोहन पुन मगर, सन्तोष मल्ल, भीमबहादुर पुन, विनोद मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (१), परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३), रेशमबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, डम्बरबहादुर मल्ल र तिलक चन्द हुन्।

विराज पुन मगर, टोपबहादुर मगर, मानबहादुर मल्ल, धनराज राना, रमित पुन मगर, सर्वजीत भन्ने सविन पुन, नवीनकुमार घर्ती मगर र नेत्रबहादुर मल्लले पनि अदालतले गरेको फैसलाविरुद्ध मुद्दा दर्ता गराएका थिए।

उच्च अदालत सुर्खेतका न्यायाधीश नहकुल सुवेदीले नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपीमध्येका भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा समान एक÷एक लाख धरौटी मागेको थियो। नवराजकी प्रेमिकासहित दुई जनालाई बाल सुधार गृहमा पठाउन आदेश दिएको थियो । अन्यले सफाइ पाएका थिए।

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को सोती गाउँमा निर्ममतापूर्वक नवराज विकसहित गणेश बुढामगर, संजीव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार,  गोविन्द शाही र रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको हत्या भएको थियो। 

नवराजले आफ्नी प्रेमिका लिन साथीहरूलाई लगेका थिए। तर प्रेमिका ल्याउन असफल उनीहरूको भेरी नदी क्षेत्रमा प्रेमिकाको परिवार र गाउँलेहरूले लखेट्दै कुटेर हत्या गरिदिएका थिए।

Logo