चितवन राइनोजविरुद्ध कर्णाली याक्सलाई ब्याटिङकाे निम्तो

चितवन राइनोजविरुद्ध कर्णाली याक्सलाई ब्याटिङकाे निम्तो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् । अब कर्णाली ब्याटिङमा उत्रनेछ ।

कुशलको कप्तानीमा रहेको चितवन युवा खेलाडीहरूको वर्चस्व र अनुभवी विदेशी खेलाडीहरूको मिश्रण अनुभवसहित आज सुखद् सुरुवातको लक्ष्यमा छ । पहिलो सिजनमा चितवन राइनोजले युवा खेलाडीहरूको बलमा लिग चरणमा ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो । जसमा नेट रनरेटका आधारमा कर्णाली याक्स र काठमाडौं गोर्खाजलाई पछि पारेको थियो ।

तर, एलिमिनेटरमा कर्णाली याक्ससँग नै पराजित हुँदा चितवनको यात्रा समाप्त भएको थियो । जुनको बदला लिने आज मौका पनि हो । चितवनले यसपटक पाकिस्तानका तीव्र गतिका बलर सोहेल तन्विर तथा इंग्ल्यान्डका रवी बोपारालाई निरन्तरता दिएको छ। बोपाराले गत सिजन लिगकै सर्वाधिक रन बनाएका थिए। साथै पहिलो सिजन १४ विकेट लिएर चितवनका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका तनवीर चितवनका लागि पेस बलिङको मुख्य हतियार नै हुन भन्दा फरक नपर्ला ! साथै इंग्लिस ब्याट्सम्यान डेविड मलान र सैफ जैब पनि यो सिजन चितवन आएका छन्।

यता सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको टोलीमा भने अफगानिस्तानका ब्याटर नाजिबुल्लाह जाद्रान खेल्दैछन्। उनी अफगानिस्तानको राष्ट्रिय टोलीका खेलाडी हुन्। उनीसँगै अस्ट्रेलियन अलराउन्ड विल बोसिस्टो पनि कर्णालीका हेर्नलायक खेलाडी हुन्। पहिलो सिजनमा कर्णाली याक्सले ८ खेल खेल्दै तेस्रो स्थानसम्म पुगेको थियो, तर फाइनलसम्म पुग्न भने सकेन ।

कर्णालीले बोसिस्टोलाई रिटेन गर्दा स्कटिस स्पिनर मार्क वाट, पाकिस्तानी अलराउन्डर हुसेन तालत र नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउडलगायत अनुभवी खेलाडीहरूलाई भित्र्याएर दोस्रो सिजनमा तहल्का पिट्ने दाउमा छ । यी विदेशी खेलाडीहरूले कर्णालीको ब्याटिङ र बलिङ दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । पहिलो सिजनमा शिखर धवन जस्ता स्टारले सन्सनी मच्चाएजस्तै, यो सिजनमा पनि यी विदेशी खेलाडीहरूले नेपाली क्रिकेटलाई थप नयाँ उचाइ दिन सक्ने आशा गरिएको छ ।

Skip This
Skip This
Logo