नेपालको पहिलो भू–उपग्रह तयार : वैशाख ४ गते प्रक्षेपण गरिने

नेपालको पहिलो भू–उपग्रह तयार : वैशाख ४ गते प्रक्षेपण गरिने


काठमाडौं

नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो । जापानमा रहेका उपकुलपति श्रेष्ठले भने, ‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ । यो हाम्रो लागि ऐतिहासिक दिन हो । ’

यस्तै शुक्रबार नै क्यूटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए । ‘बर्डस’ कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको जापानमै रहेका नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले बताए । यसका लागि एक करोड ५० लाख जापानी यान खर्च भएको छ ।

यसैबीच आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ । नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा. रविन्द्र ढकालले जानकारी दिए । गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो ।
कान्तिपुरबाट

Logo