भोलीदेखि टेक्नोलोजी फेस्टिबल शुरु हुने

भोलीदेखि टेक्नोलोजी फेस्टिबल शुरु हुने


काठमाडौँ

ग्रामीण क्षेत्रमा प्रविधिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘१६ औँ नेशनल टेक्नोलोजी फेस्टिबल’ बुधबारदेखि शुरु हुने भएको छ ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकल इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीको संस्था लोकसले क्याम्पस प्राङ्गणमा आयोजना गर्ने सो फेस्टिबलमा १०० कक्ष राखिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो फेस्टिबल माघ २४ देखि २६ गतेसम्म चल्नेछ । लोकसले हरेक वर्ष विद्यार्थी माझ विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम, प्रतिस्पर्धामूलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्ट्रिकल कार्यक्रम सञ्चालन गरेर समग्रमा युवा सोचलाई परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्दै आएको छ ।

फेस्टिबलमा कृषिसम्बन्धी प्रयोग हुने आधुनिक सामग्री लगायतका सामग्री राखिने बताइएको छ । प्रवेश निःशुल्क गरिएको फेस्टिबल बिहान १० देखि बेलुका ५ बजेसम्म चल्नेछ ।

Logo