टेलिकमद्वारा ‘माइक्रोवेभ रेडियो लिङ्क’ विस्तार

टेलिकमद्वारा ‘माइक्रोवेभ रेडियो लिङ्क’ विस्तार

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमले ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो ।

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयले जनाएको छ  । “मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ”, इञ्जिनीयर शर्माले भने , “सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।” ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो ।

“पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो” इञ्जिनीयर शर्माले भने, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।” भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए ।

“मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले भने  ।

Logo