मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनकासुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा (महेन्द्र ताल) सम्मको हवाई र सडकको दिनप्रतिदिन सुधार हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।
बर्खाको समय सकिएपछि मौसम खुलेसँगै रारा तालका सप्तरङ्गी राराको दृश्य हेर्ने ,घुम्ने, अध्यन तथा अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो ।
रारामा घोडा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयहरूले राम्रो आम्दानीको स्रोत पाएका छन् ।
कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हुँदै जान थालेपछि कर्णाली प्रदेश लगायत देशका मुख्य सहर पोखरा, काठमाडौँ, नेपालगञ्ज, विराटनगर र चितवनलगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनकासुन्दरी हुँदै रारा आउने पर्यटकहरू बढिरहेका भए पनि दशैँ तिहार सकिएपछि रारामा दैनिक ४० देखि ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् ।
रारा पुग्ने पर्यटकहरूलाई घोडा चढाएर रारा तालको विभिन्न स्थान सम्म पुगाउनका लागि पछिल्लो समयमा घोडा व्वसाय संघ गठन गरिएको छ । ‘पालैपालो गरेर पर्यटकहरूलाई रारा घुमाउने गरेका छौँ । दैनिक २–३ हजार आम्दानी हुने गरेको छ । विदेश तथा भारतका विभिन्न गल्लीहरूमा काम गर्नुभन्दा पनि आफ्नै देशका जिल्ला र राराको पर्यटनको प्रचारप्रसार गर्ने र घर खर्च चलाउने गरेका छौँ ।’ घोडा व्यवसायी जीवन रावलले भने ।
‘रारा घुम्न आएका पर्यटकहरूलाई सल्यरीबाट रारा ताल, हुटु, मुर्माटप र महादेव मन्दिर लगायतका विभिन्न स्थानसम्म घुमाउने गरेका छौँ । घोडा व्यवसायी समितिको निर्णयअनुसार पालैपालो गरेर जाने गरेका छौँ ।’ उनले भने ।
अलि चिसो समय सुरु हुन थालेपछि रारा घुम्न आउने पर्यटकहरूको संख्या घट्दै जान थालेको छ । तर हिजोआज मौसम निकै सफा भएको हुनाले रारातालको पुरै दृश्य देखिने भएको हुनाले रारा घुम्न आएका पर्यटकहरू तालको किनारमा फोटो खिच्ने र टिकटक बनाउनमा बढी व्स्त हुने गरेका छन् । घोडा चडेर फोटो लिने गर्दा दैनिक १ हजारदेखि २ हजारसम्म आम्दानी हुने गरेको घोडाचालक रवीन्द्र कामीले बताए ।





























प्रतिक्रिया