२०औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा सुरु हुँदै

२०औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा सुरु हुँदै

केन्द्रबिन्दु
18
Shares

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु हुँदैछ।  होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा सुरु हुन लागेको हो । 

२०औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

संघले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुबेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उक्त महोत्सबमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक होटल संघ पोखरा नेपालले जानकारी दिएको छ । त्यस्तै महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् ।

फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन् ।

Skip This
Skip This
Logo